१४ औं पोखरा महोत्सवको तयारी तीव्र : आधुनिक प्रविधि र भव्यतामा जोड, पुष २९ गतेदेखि अमरसिंह चौरमा हुने

Share:

पोखरा। पोखराको प्रतिष्ठित युनाईटेड क्लबको आयोजनामा हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी तीव्र पारिएको छ। आगामी पुष २९ देखि माघ ११ गतेसम्म अमरसिंह चौरमा सञ्चालन हुने यस पटकको महोत्सवलाई विगतका वर्षहरूभन्दा पृथक, भव्य र सभ्य बनाउने उद्देश्यसहित ३१ वटा उपसमितिहरू सक्रिय भएका छन्।

महोत्सवलाई सफल बनाउन गठित विभिन्न उपसमितिहरूको हालै सम्पन्न बैठकले यसपटकको संस्करणमा आधुनिक प्रविधि, सुरक्षा र दर्शकको सुविधालाई विशेष प्राथमिकता दिने निर्णय गरेको छ। यसपटकको महोत्सवमा लाइन बस्नुपर्ने झन्झट अन्त्य गर्दै आधुनिक प्रविधिको प्रयोगमा जोड दिइने भएको छ।

टिकट काउण्टर व्यवस्थापन संयोजक शिव थापा र पृष्ठपोषण संयोजक आनन्द थापाका अनुसार, टिकट र सिजनल पासका लागि अनलाइन माध्यमको प्रयोग गरिनेछ, जसले महोत्सवलाई हाइटेक बनाउनेछ। साथै, स्टेज व्यवस्थापन संयोजक पूर्ण कुमार श्रेष्ठले यस पटकको मञ्च सजावट विगतभन्दा नितान्त फरक र आकर्षक हुने जानकारी दिए।

दर्शकको सुरक्षालाई मध्यनजर गर्दै महोत्सव स्थलमा अत्याधुनिक सिसिटीभी क्यामेरा जडान गरिने सुरक्षा व्यवस्थापन संयोजक बुद्ध कार्कीले बताए। यसका साथै पर्याप्त सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरी महोत्सवलाई सुरक्षित र मर्यादित बनाइनेछ।

कलाकार व्यवस्थापन संयोजक गणेश तिमिल्सिनाका अनुसार दर्शकको चाहना र आकर्षणलाई ध्यानमा राख्दै राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। झाँकी र्‍याली संयोजक सूक बहादुर गुरुङले पोखराको संस्कृति झल्किने र्‍यालीको तयारी भइरहेको बताए।

शुक्रबार सम्पन्न बैठकमा कार्य सम्पादन संयोजक राजु श्रेष्ठले सबै उपसमितिहरूलाई तदारुकताका साथ काम गर्न आग्रह गरे। बैठकमा अतिथि व्यवस्थापन संयोजक हिमालय बख्रेल, अनुगमन संयोजक लालकाजी गुरुङ, सचिवालय संयोजक शान्त बहादुर थापा, प्रचारप्रसार संयोजक दिनेश सुनार, स्टल व्यवस्थापन संयोजक जयराम आचार्य लगायतले आ-आफ्नो तयारीबारे जानकारी गराएका थिए।

त्यस्तै, खानेपानी तथा सरसफाई, पार्किङ, ट्राफिक व्यवस्थापन, स्वास्थ्य, र विद्युत् व्यवस्थापनका संयोजकहरूले पनि दर्शकको सुविधाका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन्। युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना केवल मनोरञ्जनका लागि मात्र नभई सामाजिक कामका लागि गर्दै आएको छ। अतिथि व्यवस्थापन संयोजक हिमालय बख्रेलले महोत्सव पोखराको ब्राण्ड बनिसकेको र यसले सामाजिक काममा टेवा पुर्‍याउँदै आएकोले यसलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु पर्नेमा जोड दिए।

महोत्सव मूल आयोजक समितिका संयोजक लोक बहादुर थापाले १४ औं पोखरा महोत्सवलाई सफल बनाउन सबैको एकता र सहकार्य आवश्यक रहेको बताए। उनले भने, “विगतका महोत्सवहरू जस्तै यसपटक पनि हामी सबैको साथ र सहयोगले पोखरा महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नेछौं।” महोत्सवको प्रायोजकहरूको टुंगो लागिसकेको र स्टल बुकिङको प्रक्रिया पनि छिट्टै सुरु हुने आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: