पोखरामा दुई दिने पुस्तकालय व्यवस्थापन तालिम सम्पन्न, आधुनिक र अनुसन्धानमूलक सेवा प्रवाहमा जोड

Share:

पोखरा। गण्डकी प्रदेशभित्रका पुस्तकालयहरूलाई समयसापेक्ष, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ पोखरामा आयोजित दुई दिने ‘पुस्तकालय व्यवस्थापन तालिम’ सफलतापूर्वक सम्पन्न भएको छ। गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखरा र नेपाल पुस्तकालय सङ्घ, गण्डकी प्रदेशको संयुक्त आयोजनामा सञ्चालित उक्त तालिम पोखरा सार्वजनिक पुस्तकालय, नयाँबजारको सभाहलमा सम्पन्न भएको हो।

तालिममा गण्डकी प्रदेशभित्र रहेका विश्वविद्यालय, क्याम्पस, अदालत तथा सार्वजनिक पुस्तकालयहरूबाट ३० जनाको सहभागिता रहेको थियो। सहभागीहरूमा पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, गण्डकी बहुप्राविधिक विद्यालय, नेपाल मणिपाल कलेज अफ मेडिकल साइन्सेज, वन विज्ञान अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, धवलागिरी बहुमुखी क्याम्पस लगायतका शैक्षिक संस्थाका प्रतिनिधिहरू थिए।
त्यस्तै, उच्च अदालत पोखरा, उच्च अदालत बागलुङ इजलास, राजस्व न्यायधिकरण पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र विभिन्न सामुदायिक पुस्तकालयका पुस्तकालयकर्मीहरूको पनि उपस्थिति रहेको थियो।

तालिमको उद्घाटन गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र बाबु तिवारीले गरेका थिए। उद्घाटन सत्रमा बोल्दै पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष अर्जुन श्रेष्ठले सार्वजनिक पुस्तकालयहरूको संरक्षण र प्रवर्द्धन गर्नु सबैको साझा दायित्व भएको बताए।

दुई दिनसम्म चलेको उक्त तालिममा सहभागीहरूलाई पुस्तकालय व्यवस्थापनका विविध पक्षबारे प्रशिक्षण दिइएको थियो। तालिमको सहजीकरण पोखरा विश्वविद्यालयका सह-प्रशासक डा. रबिन्द्र घिमिरे, वन विज्ञान संस्थानका लाइब्रेरियन सूर्य क्षेत्री, नेपाल पुस्तकालय सङ्घका अध्यक्ष तथा पोखरा विश्वविद्यालयका लाइब्रेरियन मीना डल्लाकोटी, पोखरा विश्वविद्यालयका लाइब्रेरियन दुर्गा प्रसाद आचार्य, पृथ्वीनारायण बहुमुखी क्याम्पसका लाइब्रेरियन किशोर सुवेदी र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका तालिम संयोजक सुवर्ण आचार्यले गरेका थिए।

तालिमका सहभागी मणिपाल कलेज अफ मेडिकल साइन्सेजका सहायक प्रबन्धक खिम लामिछाने काजीले तालिम अत्यन्तै फलदायी भएको प्रतिक्रिया दिए। उनले भने, “यो तालिमले आधुनिक पुस्तकालय सञ्चालन, स्रोत-साधनको प्रभावकारी उपयोग र पाठक-मैत्री वातावरण सिर्जना गर्न ठूलो सहयोग पुग्नेछ। यहाँ सिकेका सीपहरू हामी आफ्नो संस्थामा व्यवहारिक रूपमा लागू गर्नेछौं।”

त्यस्तै, पोखरा विश्वविद्यालयका सह-प्रशासक डा. रबिन्द्र घिमिरेले यस्ता तालिमले कर्मचारीहरूको वृत्ति विकासमा सघाउनुका साथै कार्यसम्पादनलाई छिटो र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। तालिमको समापन समारोहका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्र प्रसाद तिवारी रहेका थिए ।

उनले समयअनुसार पुस्तकालयलाई अद्यावधिक गर्दै लैजानुपर्ने आवश्यकता औंल्याउँदै अनुसन्धानकर्ताहरूलाई सहयोग गर्न पुस्तकालयकर्मीको भूमिका महत्वपूर्ण हुने बताए।

कार्यक्रमको अन्त्यमा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र बाबु तिवारीले उत्प्रेरणा र उच्च मनोबलका साथ काम गर्न सहभागीहरूलाई आग्रह  गरे। तालिम समापनसँगै सम्पूर्ण ३० जना सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: