यु-१६ अन्तर विद्यालय क्रिकेट: नविन मावि र डायमण्डको शानदार जित, सौरभ र शशांक चम्किए

Share:

पोखरा । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी ‘हिमालय क्रिकेट एकेडेमी कप-२०८२’ यु-१६ अन्तर विद्यालय पुरुष टि-२० क्रिकेट प्रतियोगितामा शनिवार नविन मावि र डायमण्ड माविले आ-आफ्नो खेलमा जित हासिल गरेका छन्। कास्की जिल्ला क्रिकेट संघको आयोजना, पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा हिमालय क्रिकेट एकेडेमीको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिताको तेस्रो दिन यी दुई विद्यालयले नतिजा आफ्नो पक्षमा पारेका हुन्।

शनिवारको पहिलो खेलमा नविन माविले हार्वड एकेडेमीलाई पराजित गर्यो। हार्वड एकेडेमीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नविन माविले १६.२ ओभरमा सबै विकेट गुमाउँदै १०५ रन बनाएको थियो। नविनका लागि निरन्जन ठाकुरले १६ बलमा २६ रन र ऋषि प्रजापतिले २५ बलमा अविजित २६ रनको योगदान दिए। बलिङतर्फ हार्वडका सम्पी भण्डारीले २ र डेनिश शाहीले २ विकेट लिए।

१०६ रनको लक्ष्य पछ्याएको हार्वड एकेडेमी भने नविन माविका बलरसामु निरिह बन्यो। हार्वड १६.४ ओभरमा जम्मा ४६ रनमै समेटियो। हार्वडलाई सस्तैमा समेट्न नविन माविका सौरभ सिद्धिकीले घातक बलिङ गर्दै ३.४ ओभरमा जम्मा ४ रन खर्चेर ४ विकेट लिए। यस्तै श्रीराम प्रजापतिले ३ विकेट हात पारे। खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेका सौरभ सिद्धिकी ‘म्यान अफ द म्याच’ घोषित भए।

दोस्रो खेलमा डायमण्ड सेकेण्डरी स्कुलले त्रिवेणी पब्लिक स्कुललाई फराकिलो अन्तरले पराजित गर्यो। त्रिवेणीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको डायमण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रनको विशाल योगफल तयार पार्यो। डायमण्डका लागि शशांक तिवारीले ५० बलमा ६६ रनको अर्धशतकीय पारी खेले भने अविरल पोख्रेल क्षेत्रीले २६ बलमा ४३ रन प्रहार गरे। त्रिवेणीका अरुण नियोर र वकिल पुनले समान २–२ विकेट लिए।

१८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको त्रिवेणीले २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन मात्र बनाउन सक्यो। त्रिवेणीका विद्यान कुँवरले २६ र अरुण परियारले अविजित १८ रन बनाए पनि जितका लागि पर्याप्त भएन। बलिङतर्फ डायमण्डका शशांक तिवारीले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए। ब्याटिङमा ६६ रन र बलिङमा ३ विकेट लिएका शशांक तिवारी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।

प्रतियोगिता अन्तर्गत आज (आइतबार) दुई खेल हुनेछन्। जसमा पहिलो खेल: हिमालय सेकेण्डरी स्कुल विरुद्ध रत्नज्योति तथा दोस्रो खेल: जनप्रकाश मावि विरुद्ध रेभेल रेसिडेन्स सेकेण्डरी स्कुलबिच हुनेछ।

कमेन्ट गर्नुहोस्
Share: