पोखरा-ढोरपाटन पर्यटन प्रवद्र्धन यात्रा सम्पन्न, सुरक्षित यात्रा र सडक स्तरोन्नतिमा जोड

Share:

पोखरा। नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको आयोजनामा पोखरादेखि ढोरपाटनसम्म सञ्चालित तीन दिने पर्यटन प्रवद्र्धन कार्यक्रम बिहीबार सफलतापूर्वक सम्पन्न भएको छ। आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मङ्सिर २४ गते पोखराबाट निस्किएको टोलीले बागलुङ, बुर्तिबाङ हुँदै ढोरपाटनसम्मको यात्रा गरेको थियो। टोलीमा संघमा आबद्ध सदस्यहरू, पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

यात्राका क्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा बागलुङमा विशेष अभिमुखीकरण तालिम सम्पन्न भएको छ। कास्की, बागलुङ, म्याग्दी र पर्वतका यातायात व्यवसायी, चालक तथा सहचालकहरूका लागि आयोजित उक्त तालिम सुरक्षित र गुणस्तरीय यातायात सेवा सञ्चालनका लागि निकै फलदायी भएको संघका गण्डकी प्रदेश अध्यक्ष दुर्गादत्त दहालले बताए।

कार्यक्रममा बोल्दै अध्यक्ष दहालले पोखरादेखि ढोरपाटनसम्मको सडक पूर्वाधारमा सुधारको खाँचो औंल्याए। उनले भने, “पोखराबाट ढोरपाटनसम्म ठाउँ/ठाउँमा बन्दै गरेका र स्तरोन्नति भइरहेका बाटोको निर्माण चाँडो सम्पन्न गर्नुपर्ने देखिन्छ। बाटो व्यवस्थित हुन सकेमा मात्र पोखराबाट ठूलो संख्यामा पर्यटकहरूलाई ढोरपाटनसम्म पुर्‍याउन सकिन्छ।”

यात्राका क्रममा बागलुङ, बुर्तिबाङ र ढोरपाटन क्षेत्रका स्थानीय पर्यटन व्यवसायीहरूसँग पर्यटकीय साझेदारी बढाउने विषयमा महत्त्वपूर्ण छलफल भएको थियो। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत युवराज गुरुङले ढोरपाटनजस्ता प्रचुर सम्भावना बोकेका स्थलहरूको प्रवद्र्धन जरुरी रहेको बताए।

उनले पर्यटकीय गन्तव्यको प्रचारसँगै स्थानीय पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि हुनुपर्नेमा जोड दिए। कार्यक्रम संयोजक एवं संघका प्रथम उपाध्यक्ष रविप्रसाद आचार्यले यो भ्रमणले पोखरा र ढोरपाटनबीचको पर्यटन विकासमा नयाँ विश्वास जगाएको बताए।

“हामीले पोखरा–ढोरपाटनको पर्यटन प्रवद्र्धन र साझेदारीका लागि महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छौं,” उनले भने, “पर्यटन सम्बद्ध सबै पक्षको एकताबद्ध प्रयास र व्यवसायीबीचको समन्वयबाट नै यस क्षेत्रको पर्यटनले फड्को मार्न सक्छ।”

कमेन्ट गर्नुहोस्
Share: