गण्डकीमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणलाई प्राथमिकता दिन उद्योगी-व्यवसायीको माग

Share:

पोखरा। लेखनाथ उद्योग वाणिज्य सङ्घले गण्डकी प्रदेशमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखी तत्काल अघि बढाउन प्रदेश सरकारसँग माग गरेको छ। सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटी यससम्बन्धी ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमार्फत सङ्घले गण्डकी प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजनामा समावेश गरिएको प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्न माग गरेको छ। पोखरामा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्रका लागि आवश्यक जग्गा प्रदेश सरकारले यसअघि नै प्राप्त गरिसकेको बुझाइ सङ्घको रहेको छ।

सङ्घले औद्योगिक क्षेत्र निर्माणका सम्बन्धमा हालसम्म भएका पहल, तिनको अवस्था र आगामी कार्ययोजनाबारे स्पष्ट जानकारी दिन मुख्यमन्त्रीसँग आग्रह गरेको छ। भेटका क्रममा रोजगारी सिर्जना आज राष्ट्रकै प्रमुख आवश्यकता बनेको उल्लेख गर्दै, अर्थतन्त्रलाई चलायमान राख्न, आपूर्ति प्रणाली सहज बनाउन र समृद्ध गण्डकी प्रदेश निर्माणका लागि प्रादेशिक औद्योगिक क्षेत्र अपरिहार्य रहेको धारणा व्यक्त गरिएको थियो।

हाल जग्गाको मूल्य अत्यधिक बढेकाले निजी क्षेत्रले चाहेर पनि उद्योग स्थापना गर्न नसकिरहेको उल्लेख गर्दै, उद्योग-कलकारखाना स्थापना गर्न अनुकूल वातावरण सिर्जना गर्ने जिम्मेवारी सरकारकै रहेको सङ्घले जनाएको छ।

सङ्घकी अध्यक्ष जानुका अधिकारीले समग्र गण्डकी प्रदेशको विकास र समृद्धिका लागि प्रदेश सरकारले निर्माण गर्ने औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढाउन आग्रह गरिएको बताइन्। उनका अनुसार राजधानी काठमाडौँ र पोखराको भौगोलिक पहुँच सहज बन्दै गएको वर्तमान अवस्थामा पोखरा महानगरपालिकाको आसपासमा निर्माण हुने औद्योगिक क्षेत्र काठमाडौँको विकल्पका रूपमा समेत विकास हुन सक्ने सम्भावना रहेको छ।

औद्योगिक क्षेत्र सञ्चालनका लागि सङ्घका सदस्य उद्योगी–व्यवसायीहरू उत्साहित रहेको जनाउँदै अध्यक्ष अधिकारीले प्रदेश सरकारले शीघ्र निर्णय गरी निर्माण प्रक्रिया अघि बढाउने अपेक्षा व्यक्त गरिन्।

कमेन्ट गर्नुहोस्
Share: