पोखरा महानगरको ६७औँ स्थापना दिवसः रक्तदानबाट शुभारम्भ, ८० युनिट रगत सङ्कलन

Share:

पोखरा । पोखरा महानगरपालिकाको ६७औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८० युनिट रगत सङ्कलन गरिएको छ। सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै महानगरपालिकाले स्थापना दिवसको कार्यक्रमको शुभारम्भ रक्तदानमार्फत गरेको हो।

रक्तदान कार्यक्रममा महानगरपालिकाका कर्मचारी, नगर प्रहरी तथा स्वयंसेवी रक्तदाताको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रगत न त किन्न सकिने न त उत्पादन गर्न सकिने भएकाले यसको अभाव पूर्ति गर्न सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले मानव जीवन बचाउन रक्तदान सबैभन्दा ठूलो सेवा भएको उल्लेख गरे।

महानगरपालिकाले स्थापना दिवसको अवसरमा पोखरेली नवरत्न सम्मान, सर्वोत्कृष्ट, उत्कृष्ट र कर्तव्यनिष्ठ कर्मचारी सम्मान, शिक्षक तथा विद्यार्थी सम्मानलगायत विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ।

यसैगरी, उमेरको ज्येष्ठताका आधारमा महानगर मातापिता (ज्येष्ठ नागरिक) सम्मान पनि प्रदान गरिनेछ। स्थापना दिवसलाई सेवा, सम्मान र सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउनुले पोखरा महानगरपालिकाको सकारात्मक सन्देश प्रवाह गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: