
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। अध्यक्षका प्रत्याशी केपी शर्मा ओली मतदानस्थलमा पुगेपछि भृकुटीमण्डपमा औपचारिक रूपमा मतदान प्रारम्भ भएको हो। अध्यक्ष पदका दुई प्रमुख प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले पहिलो मत हाल्दै मतदानको शुभारम्भ गरेका छन्। ओलीले ७७ नम्बरको विद्युतीय मेसिनबाट मत हाले भने पोखरेलले ७६ नम्बरको मेसिन प्रयोग गरे।
यसअघि मंगलबार साँझका लागि तय गरिएको मतदान प्राविधिक समस्याका कारण स्थगित भई आज बिहानका लागि सारिएको थियो। बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि भृकुटीमण्डपमा केही ढिलाइसँगै प्रक्रिया अघि बढाइएको हो। तर प्रतिनिधिहरू भने बिहानैदेखि मतदानस्थलमा लाइन लागेर बसेका थिए।
मतदान पूर्ण रूपमा विद्युतीय प्रणालीमार्फत भइरहेको छ। रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेका ८० वटा विद्युतीय मेसिनमार्फत २२६३ प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गर्दैछन्।
नयाँ नेतृत्वका लागि केपी ओली र ईश्वर पोखरेल समूह प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। साथै, दुवै प्यानल बाहिर रहेकाहरूले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी माहोललाई थप रोचक बनाएका छन्।
मतदान जारी रहँदा उम्मेदवारहरू प्रतिनिधिसँग मत माग्न व्यस्त देखिएका छन् भने प्रतिनिधिहरू पनि आफूले रुचाएका उम्मेदवारको पक्षमा खुला प्रचार–प्रसार गरिरहेका छन्। यसले महाधिवेशनस्थलको राजनीतिक माहोललाई झनै चर्को र उत्साहपूर्ण बनाएको छ।
