प्रथम दोभान कप सेभेन ए साइड फुटबलमा रोमाञ्चक खेल, दोस्रो दिन पाँच टिम विजयी

Share:

पोखरा । दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका-६ भिरचोकस्थित खेल मैदानमा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगिता दोस्रो दिन पनि उत्साहजनक रूपमा अघि बढेको छ । बुधबार सम्पन्न पाँच खेलमा प्रतिस्पर्धी टिमहरूले उत्कृष्ट प्रदर्शन गर्दै दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका छन् ।

बुधबारको पहिलो खेलमा न्यू स्टार क्लबले गगनगौडालाई २–० गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित गर्‍यो । दोस्रो खेलमा बौद्ध शान्ति क्लब रामघाटले सशक्त प्रदर्शन गर्दै खेम माइला क्लबलाई २–० ले हरायो ।

तेस्रो खेलमा आयोजक दोभान क्लब र मुलमिल क्लबबीचको खेल निकै रोमाञ्चक बनेको थियो । निर्धारित समयमा बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो, जहाँ मुलमिलले ४–३ ले जित निकाल्दै आयोजकलाई प्रतियोगिताबाट बाहिर पठायो ।

चौथो खेलमा पुनः रामघाटले आफ्नो प्रभुत्व जमाउँदै म्याग्दीलाई ३–० गोलअन्तरले पराजित गर्‍यो । दिनको अन्तिम खेलमा धारापानीले डाडाँपाखालाई टाइब्रेकरमा ५–४ ले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।

२४ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकलाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता आगामी पुस ५ गतेसम्म सञ्चालन हुने छ ।

कमेन्ट गर्नुहोस्
Share: