पोखरा महानगरको ६७औँ स्थापना दिवसमा ‘पोखरेली नवरत्न’ सम्मान

Share:

पोखरा । पोखरा महानगरपालिकाको ६७औँ स्थापना दिवसका अवसरमा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका नौ जना विशिष्ट व्यक्तित्वलाई ‘पोखरेली नवरत्न’ सम्मान प्रदान गरिएको छ।

पोखरा महानगरपालिकाले आयोजना गरेको विशेष समारोहमा गायन तथा संगीत क्षेत्रबाट चर्चित गायक अमृत गुरुङ, धार्मिक पर्यटन तथा कृषि उद्यम क्षेत्रबाट चन्द्रकान्त बराल, समाजसेवा तथा उद्योग क्षेत्रबाट चन्द्रकृष्ण कर्माचार्य र साहित्य क्षेत्रबाट तीर्थ श्रेष्ठलाई सम्मान गरिएको हो।

त्यसैगरी, पत्रकारिता क्षेत्रबाट तिलकमान गुभाजु, स्वास्थ्य क्षेत्रबाट प्रा.डा. बुद्धिबहादुर थापा, खेलकुद तथा शिक्षा क्षेत्रबाट प्रा।डा। विरेन्द्रसिंह गुरुङ, उद्यमशीलता क्षेत्रबाट रामकली खड्का र शिक्षा, सेवा तथा उद्योग क्षेत्रबाट हरिप्रसाद पाण्डे सम्मानित भएका छन्।

सम्मानित व्यक्तित्वहरूलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जनही दुई लाख दुई हजार २०२ रुपैयाँ, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

समारोहमा बोल्दै वक्ताहरूले पोखराको सामाजिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक विकासमा योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मानले आगामी पुस्तालाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। महानगरपालिकाले आगामी दिनमा पनि योगदानकर्ताहरूको पहिचान र सम्मानलाई निरन्तरता दिने जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: