होटल संघ पोखराको ४३औँ वार्षिक साधारणसभा सम्पन्न

Share:

पोखरा। होटल संघ पोखरा नेपालको ४३औँ वार्षिक साधारणसभा मंगलबार पोखरामा सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै तुलाचनले पोखराको पर्यटन प्रवद्र्धनमा होटल संघले खेलेको भूमिकाको प्रशंसा गर्दै व्यवसायिक हकहितका लागि संघ अझ सशक्त रूपमा अघि बढ्नुपर्ने सुझाव दिए।

संघ स्थापनाको प्रारम्भिक यात्रालाई स्मरण गर्दै उनले एकताबद्ध भएर व्यवसायिक अधिकारका पक्षमा निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिए। साधारणसभालाई सम्बोधन गर्दै संघका अध्यक्ष लक्ष्मण सुवेदीले ‘पोखरा २४ घण्टा खुला’ भन्ने प्रचारले भ्रम सिर्जना भएको भन्दै यसले पोखराको पर्यटनमा नकारात्मक असर पारिरहेको बताए। उनका अनुसार २४ घण्टा व्यवसाय खोल्न पाउने व्यवस्था ४२ बुँदे आचारसंहिता पालना गर्ने सीमित व्यवसायका लागि मात्र लागू गरिएको हो।

“लेकसाइड र सिंगो पोखरा रातभरि खुल्ला भन्ने हल्ला फैलाइएको छ, जुन सत्य होइन,” अध्यक्ष सुवेदीले भने, “यस भ्रमका कारण आन्तरिक पर्यटकले राति दुई बजे पनि खाना अर्डर गर्ने गरेका छन्, जसले व्यवसायीलाई अप्ठ्यारो परेको छ।”

तीन सिफ्टमा कर्मचारी व्यवस्थापन गरेर रातभरि सेवा दिन सम्भव नभएको उनको भनाइ थियो। २४ घण्टा पोखरा खुला गर्ने व्यवस्थाले पर्यटनमा ठूलो परिवर्तन ल्याउने गरी प्रचार भए पनि व्यवहारमा अपेक्षित परिणाम नआएको अध्यक्ष सुवेदीले स्पष्ट गरे।

उनले संघले पोखरा तथा सिंगो नेपालको प्रवद्र्धनका लागि ‘जाउँ है पोखरा’, ‘चलिउँ पोखरा’ र ‘पोखरा प्योर एन्ड पर्फेक्ट’ जस्ता अभियान सञ्चालन गर्दै आएको स्मरण गराए ।

यस्ता अभियानका कारण पोखरा आउने नेपाली पर्यटकको हिस्सा ३ प्रतिशतबाट बढेर ४० प्रतिशत पुगेको तथ्यांक प्रस्तुत गरे। भाइटिका महोत्सवजस्ता कार्यक्रमलाई निरन्तरता दिइएको र पोखराबाट विभिन्न देशसम्म सिधा हवाई उडान सञ्चालनका लागि कूटनीतिक पहलसमेत गरिएको जानकारी उनले दिए।

अर्को प्रसंगमा अध्यक्ष सुवेदीले २५ बेडभन्दा माथिका होटलमा वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गर्ने सरकारी निर्णय अव्यवहारिक भएको गुनासो गरे। साना होटलहरूका लागि यस्तो प्रक्रिया जटिल हुँदा थुप्रै होटल नविकरण हुन नसकेको उनको भनाइ थियो।

कार्यक्रममा संघकी सचिव पार्वती पाण्डेले संघका आगामी कार्यक्रमहरू प्रस्तुत गर्दै भनिन् । कोषाध्यक्ष नेत्रप्रसाद पौडेल रमेशले आर्थिक प्रतिवेदन पेश गरिन्। सो अवसरमा विशाल ग्रुपका तरुण अग्रवालले कम्पनीले बिक्री-वितरण गर्दै आएका विद्युतीय सवारी साधनबारे जानकारी गराएका थिए।

कार्यक्रमको समापन गर्दै संघका प्रथम उपाध्यक्ष दिपक श्रेष्ठले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे। यस अवसरमा होटल संघ पोखरा नेपाल र संयुक्त समाज नेपालबीच पोखरालाई दिगो पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। उक्त सहकार्यमा दिगो परियोजना स्वीसकन्ट्याक्ट नेपालको प्राविधिक सहयोग रहने जनाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: