
पोखरा। दोस्रो भारत-नेपाल टुरिज्म मिटमा सहभागी हुन नेपाल आएका भारतीय टुर अपरेटर तथा सोसल मिडियाकर्मीको टोली मंगलबार साँझ पोखराको लेखनाथस्थित पर्यटकीय गन्तव्य बेगनास आइपुगेको छ।
पोखरा भ्रमण वर्ष २०२५लाई सफल बनाउँदै भारतीय तथा बाह्य पर्यटकको आगमन वृद्धि गर्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद्, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा बिहीबार पोखरामा आयोजना हुने टुरिज्म मिटको पूर्वसन्ध्यामा गन्तव्य प्रवद्र्धन कार्यक्रमअन्तर्गत टोली बेगनास पुगेको हो।
मिटमा सहभागी हुन आएको १२ सदस्यीय भारतीय टोलीलाई सोमबार पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाको नेतृत्वमा सुनौली नाकामा स्वागत गर्दै स्थलमार्गबाट चितवन हुँदै सौराहा ल्याइएको थियो। गन्तव्य प्रवद्र्धन कार्यक्रमअन्तर्गत चितवनमा टोलीलाई स्वागत गर्नुका साथै पर्यटकीय साझेदारी र सम्भावनाबारे अन्तरक्रिया गराइएको थियो भने प्रमुख पर्यटकीय स्थलहरूको अवलोकनसमेत गराइएको थियो।
महासचिव सापकोटाका अनुसार मंगलबार टोली तनहुँको बन्दीपुर हुँदै बेगनास आइपुगेको हो। साँझ टोलीले बेगनास तालमा प्रत्येक महिनाको १ गते आयोजना हुने महाआरतीमा सहभागिता जनाउनुका साथै स्थानीय सरोकारवालासँग अन्तरक्रिया गरेको पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका सह-संयोजक तथा होटेल तथा रेष्टुरेन्ट एशोसिएसन लेखनाथका पूर्व अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए।
अन्तरक्रियाका क्रममा सह-संयोजक थापाले बेगनास क्षेत्रका पर्यटकीय गन्तव्यहरू समेटिएको भिडियो प्रस्तुति गर्दै यस क्षेत्रले पर्यावरणीय पर्यटन (इको-टुरिज्म) को अपार सम्भावना बोकेको जानकारी गराए।
कार्यक्रममा पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले भारतीय टुर अपरेटर तथा सोसल मिडियाकर्मीको सहभागिताले यस क्षेत्रको अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
उत्तर प्रदेश पर्यटन विभागका सह-निर्देशक दिनेश कुमारले नेपाल-भारत पर्यटन सहकार्यलाई मजबुत बनाउन आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका वरिष्ठ अधिकृत युवराज गुरुङले पोखरा र आसपासका क्षेत्रले उच्च पर्यटकीय सम्भावना बोकेको उल्लेख गर्दै ती गन्तव्यको प्रभावकारी प्रवद्र्धन आवश्यक रहेको बताए।
महासचिव सापकोटाका अनुसार भारतीय प्रवद्र्धनात्मक टोली आज बेगनास क्षेत्रबाट पोखरा हुँदै पर्वत र बागलुङका पर्यटकीय गन्तव्यहरूको अवलोकनमा निस्कनेछ। टोलीले भोलि पुम्दीकोट भ्रमण पश्चात पोखरास्थित पोखरा ग्रान्डमा आयोजना हुने दोस्रो भारत-नेपाल टुरिज्म मिटमा सहभागिता जनाउनेछ।
मिटमा नेपाल र भारतका पर्यटन व्यवसायीबीच व्यवसाय-व्यवसाय (बीटुबी) भेटघाट, साझेदारी र सहकार्यसम्बन्धी छलफल हुने आयोजकले जनाएको छ।
