
पोखरा। पोखरा महानगरपालिकाको ६७औँ स्थापना दिवसका अवसरमा शैक्षिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने उत्कृष्ट शिक्षक, विद्यार्थी तथा विद्यालयहरूलाई सम्मान गरिएको छ।
सो अवसरमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए प्राप्त गर्ने ६७ जना विद्यार्थी तथा महानगरस्तरीय परीक्षा अन्तर्गत कक्षा ८ मा ४ जिपिए हासिल गर्ने १२ जना विद्यार्थीलाई विशेष सम्मान प्रदान गरिएको हो।
त्यसैगरी, कक्षा ८ को परीक्षामा विषयगत रूपमा औसतभन्दा उत्कृष्ट उपलब्धि हासिल गर्ने ३० जना शिक्षक र एसइई परीक्षामा उत्कृष्ट नतिजा दिलाउने ३० जना शिक्षक गरी जम्मा ६० जना शिक्षकलाई सम्मान गरिएको छ।
विद्यालयतर्फ कक्षा ८ को परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्ने १५ वटा विद्यालय, एसइईतर्फ ४९ वटा विद्यालय तथा सामुदायिक र संस्थागत विद्यालयमध्ये सबैभन्दा बढी जिपिए प्राप्त गर्ने एक/एक विद्यालयसमेत सम्मानित भएका छन्।
स्थापना दिवसका अवसरमा बुधबार शिक्षा, समाजसेवा, कला, संस्कृति, स्वास्थ्य, खेलकुद लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरूलाई ‘पोखरा रत्न’ प्रदान गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए।
महानगरपालिकाले उत्कृष्ट उपलब्धि हासिल गर्ने प्रतिभाको सम्मानमार्फत शिक्षाको गुणस्तर अभिवृद्धि र विद्यार्थी तथा शिक्षकलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।
