बन्दीपुर केबलकार एण्ड टुरिज्म र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइज सम्झौता

Share:

पोखरा । बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेड र भारतको अग्रणी तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित होटल शृङ्खला लेमन ट्री होटल्स लिमिटेडबीच होटल सञ्चालनका लागि १५ वर्षे फ्रेन्चाइज तथा व्यवस्थापन सम्झौता सम्पन्न भएको छ। सो सम्झौतामा बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडको तर्फबाट इन्जिनियर विष्णु पन्थी र लेमन ट्री होटल्स लिमिटेडको तर्फबाट मुख्य कार्यकारी अधिकृत विलास पवारले मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहबीच हस्ताक्षर गरेका हुन् ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बन्दीपुर केबलकारका अध्यक्ष रामचन्द्र शर्मा, बन्दीपुर केबलकार लिमिटेडका सीइओ डा. रोमन मान श्रेष्ठ, आरकेडीका कार्यकारी समन्वय अधिकृत वसन्त शर्मालगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले यस सहकार्यले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने र बन्दीपुरलाई विश्वस्तरीय गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे।

बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेड बन्दीपुर क्षेत्रमा पर्यटन विकासको अग्रणी संस्था हो भने लेमन ट्री होटल्स लिमिटेड भारतको प्रमुख होटल ब्राण्डमध्ये एक हो, जसको एशिया तथा मध्यपूर्व क्षेत्रमा सशक्त उपस्थिति रहेको छ। कम्पनीको वैश्विक आरक्षण सञ्जाल, कर्पोरेट यात्रा खण्ड र लक्जरीदेखि मध्यम श्रेणीसम्मको ग्राहक आधारले बन्दीपुरलाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

सम्झौताअनुसार बन्दीपुरस्थित होटल अब “लेमन ट्री होटल्स” ब्राण्डअन्तर्गत सञ्चालनमा आउनेछ। यसले होटल व्यवस्थापन, ब्राण्ड मान्यता, अन्तर्राष्ट्रिय बजारिकरण, सेवा गुणस्तर नियन्त्रण, मानव संसाधन विकास तथा वैश्विक आरक्षण प्रणालीमा सहज पहुँच सुनिश्चित गर्नेछ।

यो सहकार्यलाई बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडको विकास यात्राको रणनीतिक टर्निङ पोइन्टका रूपमा हेरिएको छ। अन्तर्राष्ट्रिय ब्राण्डसँगको साझेदारीले कम्पनीको राजस्व स्थायित्व, होटल अकुपेन्सी दरमा वृद्धि, विदेशी मुद्रा आर्जन तथा ब्राण्ड मूल्य र छविमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

सम्झौताले लगानीकर्ताको विश्वास बढाउने, बजारमा कम्पनीको विश्वसनीयता सुदृढ गर्ने र पर्यटन-केन्द्रित दीर्घकालीन वृद्धिका सम्भावनालाई अझ स्पष्ट बनाउने अपेक्षा गरिएको छ। साथै, बन्दीपुर केबलकार, होटल र समग्र गन्तव्य पर्यटनबीचको सहकार्यबाट कम्पनीको व्यवसायिक दायरा विस्तार हुने अनुमान गरिएको छ।

यस सहकार्यपछि बन्दीपुरमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन बढ्ने, स्थानीय स्तरमा रोजगारी सिर्जना हुने, सेवाको गुणस्तर सुधार हुने तथा समग्र पर्यटन पूर्वाधार सुदृढ हुने अपेक्षा गरिएको छ। सम्झौताका परिणामस्वरूप बन्दीपुरको होटल छिट्टै लेमन ट्री होटल्सको ब्राण्ड नाम र अन्तर्राष्ट्रिय मापदण्डअनुसार औपचारिक रूपमा सञ्चालनमा आउने जनाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: