पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसमा उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाहरू सम्मानित

Share:

पोखरा । पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्‍याएका उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई विशेष सम्मान गरिएको छ। समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि, मातृ तथा शिशु स्वास्थ्य संरक्षण र जनस्वास्थ्य सेवामा निरन्तर समर्पित रहँदै आएका स्वयंसेविकाहरूको योगदानको कदर गर्दै महानगरपालिकाले उनीहरूलाई सम्मान गरेको हो।

सम्मानित हुनेहरूमा पोखरा महानगरपालिका-३३ की कृष्णमाया पौडेल, वडा नं. १३ की ममता पहारी अधिकारी र वडा नं. १९ की पवित्रा त्रिपाठी पौडेल रहेका छन्। साथै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीकी अध्यक्ष भीमा पौडेललाई पनि विशेष सम्मान प्रदान गरिएको छ।

स्थापना दिवस समारोहमा बोल्दै महानगरपालिकाका प्रतिनिधिहरूले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू स्थानीय तहको स्वास्थ्य प्रणालीको मेरुदण्डका रूपमा रहेको उल्लेख गरे।

सीमित स्रोतसाधनका बाबजुद पनि घर-घरमा पुगेर स्वास्थ्य सेवा र सचेतना फैलाउने उनीहरूको भूमिकाले समुदायलाई स्वस्थ बनाउन ठूलो योगदान पुगेको जनाइएको थियो।

सम्मानित स्वयंसेविकाहरूले यो सम्मानले थप जिम्मेवारीबोध गराएको बताउँदै आगामी दिनमा पनि अझ सक्रिय र समर्पित भएर सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे।

स्थापना दिवसको अवसरमा गरिएको यो सम्मान कार्यक्रमले महिला स्वास्थ्य स्वयंसेविकाहरूको मनोबल उच्च बनाउनुका साथै समुदायमा उनीहरूको भूमिकाको महत्वलाई थप उजागर गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: