पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसमा शिक्षा महाशाखा प्रमुख आचार्य सर्वोत्कृष्ट कर्मचारी घोषित

Share:

पोखरा । पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसका अवसरमा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यलाई सर्वोत्कृष्ट कर्मचारी घोषित गरिएको छ।

कार्यालयको तर्फबाट गरिएको उक्त घोषणासँगै आचार्यलाई पुरस्कार स्वरुप नगद ५० हजार रुपैयाँ प्रदान गरिने भएको छ। स्थापना दिवस समारोहमा उत्कृष्ट कार्यसम्पादन र सेवाप्रवाहमा देखाएको समर्पणको कदर गर्दै अन्य कर्मचारीहरूलाई पनि सम्मान गरिएको छ।

उत्कृष्ट कर्मचारी सम्मान प्राप्त गर्नेहरूमा प्रशासकीय अधिकृत दीपेन्द्र पण्डित र कृष्णप्रसाद गौतम, सहायक प्रशासकीय अधिकृत सत्यदेवी पहारी, सहायक पाँचौँ नवराज सापकोटा तथा सी. अहेव पाँचौँ विदुर केसी रहेका छन्। उनीहरूलाई जनही नगद ३५ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको हो।

यसैगरी कर्तव्यनिष्ठ कर्मचारी सम्मान अन्तर्गत सी. सब इन्जिनियर सुमन पराजुली, वरिष्ठ सहायक प्रशासक सरिता बास्तोला, नगर प्रहरी जवान देउकी कार्की, कार्यालय सहयोगी गोविन्द राई र सवारी चालक टिकाप्रसाद रिमाललाई सम्मान गरिएको छ।

उनीहरूलाई जनही नगद २५ हजार रुपैयाँ तथा सम्मान पत्र प्रदान गरिएको छ। समारोहमा बोल्दै महानगरपालिकाका पदाधिकारीहरूले कर्मचारीहरूको मेहनत, इमान्दारिता र सेवाभावले महानगरको सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाएको उल्लेख गरे।

स्थापना दिवसको अवसरमा गरिएको यस सम्मान कार्यक्रमले कर्मचारीहरूको मनोबल बढाउने र अझ जिम्मेवार तथा गुणस्तरीय सेवा प्रदान गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: