
पोखरा । पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसका अवसरमा शताब्दी नाघेका ज्येष्ठ नागरिकलाई विशेष सम्मान गर्दै महानगर मातापिता सम्मान प्रदान गरिएको छ। दीर्घायु, अनुभव र समाजप्रतिको योगदानको कदर स्वरुप वडा नं.२८ आरुपाटा निवासी १०७ वर्षीया झ्याउरी तिमिल्सीनालाई महानगर माता सम्मान तथा वडा नं. ३२ डाँडाखर्क निवासी १०४ वर्षीय काशीनाथ पण्डितलाई महानगर पिता सम्मान प्रदान गरिएको हो।
स्थापना दिवसको औपचारिक समारोहमा महानगरपालिकाका पदाधिकारीहरूले उनीहरूलाई सम्मान गर्दै ज्येष्ठ नागरिकहरू समाजका जीवित इतिहास र मार्गदर्शक भएको उल्लेख गरे।
पुस्तौँ पुस्तालाई मार्गदर्शन गर्ने अनुभव, संस्कार र जीवन दर्शन आजको पुस्ताका लागि प्रेरणाको स्रोत बनेको जनाइएको थियो। सम्मान ग्रहणपछि परिवारजनले महानगरपालिकाले ज्येष्ठ नागरिकप्रति देखाएको सम्मान र अपनत्वप्रति आभार व्यक्त गरे।
कार्यक्रममा उपस्थित नागरिकहरूले शताब्दीभन्दा बढी समय बाँचेर समाजलाई साक्षी बनेका ज्येष्ठ नागरिकहरूको सम्मानले सामाजिक सद्भाव र सम्मान संस्कृतिलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे।
पोखरा महानगरपालिकाले स्थापना दिवसको अवसरमा प्रदान गरेको महानगर मातापिता सम्मानले ज्येष्ठ नागरिकको गरिमा बढाउनुका साथै भावी पुस्तालाई संस्कार, सम्मान र कृतज्ञताको सन्देश दिएको छ।
