
पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सुरु हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौँ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताका लागि खेलाडी तथा टिम दर्ता बिहीबारदेखि सुरु भएको छ । पोखरा महानगरपालिकाका शिक्षा अधिकृत सोमनाथ भण्डारीका अनुसार दर्ता प्रक्रिया पौष ६ गतेसम्म जारी रहनेछ । खेलाडी र टिमलाई सहज होस् भनेर शनिबार समेत दर्ता खुला रहने उनले जानकारी दिए ।
प्रतियोगिताको तयारीस्वरूप पोखरा महानगर खेलकुद विकास समितिले आयोजना गरेको प्राविधिक उपसमिति तथा विद्यालयका खेल शिक्षकसँगको छलफल कार्यक्रममा बोल्दै शिक्षा अधिकृत भण्डारीले जन्ममिति ढाटेर दर्ता गर्नेप्रति कडा कारबाही गरिने चेतावनी दिए । विगतमा यस्ता घटनाहरू देखिएको भन्दै यस वर्ष त्यसमा कुनै सम्झौता नहुने उनले स्पष्ट पारे ।
दर्ता फाराममा सहभागी विद्यार्थीको विवरणसँगै विद्यालय भर्ना हुँदा प्राप्त हुने ‘इमिस कोड नम्बर’ अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने उनले बताए । टिम खेलमा सहभागी प्रत्येक खेलाडीले छुट्टाछुट्टै फाराम भर्नुपर्ने व्यवस्था गरिएको छ ।
उनका अनुसार पौष ७ गते सबैको उपस्थितिमा टाइसिट बनाइने छ भने पौष ८ गते पत्रिकामार्फत सार्वजनिक गरिनेछ । फर्जी विवरण पेस गर्ने खेलाडीलाई एक वर्षसम्म प्रतियोगितामा सहभागी हुन नपाउने लगायतका कारबाही गरिने जनाउँदै गलत संस्कार बस्न नदिन सबै पक्ष चनाखो हुनुपर्नेमा उनले जोड दिए ।
पोखरा महानगरमा हाल १ सय ६० संस्थागत र ८० सामुदायिक गरी कुल २ सय ४० विद्यालय रहेका छन् । ती विद्यालयबाट छनोट भएका १८ वर्ष मुनिका विद्यार्थीहरू प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगिता पौष ११ गतेसम्म सञ्चालन हुनेछ ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले खेल शिक्षकहरूलाई इमानदारिताका साथ विद्यार्थी सहभागी गराउन आग्रह गर्दै खेलाडीको अनुशासन र नैतिकतामा विशेष ध्यान दिन अनुरोध गरे । प्रतियोगिताका क्रममा कुनै गुनासो वा उजुरी भएमा सम्बन्धित निकायमा राख्न उनले आग्रह गरे ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पोखरा महानगरले उल्लेखनीय पदक जितेको स्मरण गराउँदै अध्यक्ष गोदारले राष्ट्रपति रनिङ शिल्डमा प्रदेशस्तरमा पहिलो भइसकेको र अब केन्द्रीय स्तरमा समेत शिल्ड कब्जा गर्ने लक्ष्यका साथ तयारी गरिएको बताए । यसका लागि सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
छलफल कार्यक्रममा सहभागी खेल शिक्षकहरूले उठाएका जिज्ञासाको समाधान गर्दै प्राविधिक उपसमिति संयोजक राजन पौडेल, सहसंयोजक सिद्धान्त अधिकारीलगायतले परिवर्तित नियम र प्राविधिक पक्षबारे जानकारी गराएका थिए ।
कार्यक्रमको सञ्चालन पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुरज अधिकारीले गरेका थिए ।
प्रतियोगिताका लागि टिम तथा खेलाडी दर्ता निःशुल्क हुनेछ । एक खेलाडीले प्रतियोगितामा समावेश खेलका विधामध्ये एउटामा मात्र सहभागिता जनाउन पाउनेछ । परिवर्तित नियम तथा व्यवस्थाबारे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका पालना गर्न पोखरा महानगरपालिका खेलकुद विकास समितिले आग्रह गरेको छ ।


