
पोखरा । रुपाकोटमा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा पहिलो चरणका सबै खेलहरू सम्पन्न भएका छन् । बिहीबार सात खेल सकिएसँगै प्रतियोगिताको प्रिक्वाटरफाइनल चरण पूरा भएको हो । रुपा गाउँपालिका-६ भिरचोकस्थित खेल मैदानमा भएको पहिलो खेलमा सिन्के फुटबल क्लबले दोभान क्लबलाई ३-० गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनायो ।
दोस्रो खेलमा ब्रदर एफसीले नानु एफसीलाई १-० ले हरायो । तेस्रो खेलमा न्यु स्टार ‘बी’ले योङ ब्वाइलाई ७-१ को फराकिलो अन्तरले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । चौथो खेलमा योङ स्टार ‘ए’ ले विजी गाइजलाई ७-० ले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्यो । पाँचौँ खेलमा रामघाटले रामबजारलाई १-० गोलले हरायो ।
छैटौँ खेलमा खेम माइला मेमोरियल क्लबले धारापानीलाई १-० ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गर्यो । तेस्रो दिनको अन्तिम खेलमा रामघाटले मुलमिललाई टाइब्रेकरमा ४-३ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताअन्तर्गत अब एक प्रिक्वाटरफाइनल खेल बाँकी रहेको छ भने बाँकी खेलहरू क्वाटरफाइनल चरणका हुनेछन् । २४ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता पुस ५ गतेसम्म सञ्चालन हुनेछ ।


