कागज नहुँदासम्म रवि लामिछाने नछुट्ने, आज पनि नख्खु कारागारमै रहने

Share:

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज पनि थुनामुक्त नहुने भएका छन् । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले तीनवटा शर्त पूरा गरेपछि मात्रै छाड्न आदेश दिए पनि आवश्यक ‘कागज प्रक्रिया’ पूरा नभएकाले उनी आज रिहा नहुने भएका हुन् ।

उच्च अदालतका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलले जारी गरेको आदेशको अन्तिम बुँदामा लामिछानेलाई आफैँ उपस्थित भई कागज गराउनुपर्ने उल्लेख छ । अदालतको आदेश अनुसार फैसला हुँदा बिगो थपिएमा तिर्ने-बुझाउने प्रतिबद्धतासहित कागज गरिएपछि मात्र थुनामुक्त गर्न मिल्ने जनाइएको छ ।

रुपन्देही जिल्ला अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलका अनुसार लामिछानेलाई अदालतमा उपस्थित गराएर कागज गरिएपछि मात्र रिहा गर्न सकिन्छ । हाल लामिछाने ललितपुरस्थित नख्खु कारागारमा थुनामा छन् । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा संलग्न रहेको अभियोगमा उनी थुनामा परेका हुन् ।

यसअघि २०८१ माघमा राखिएको १ करोड रुपैयाँ धरौटी भने फुकुवा भइसकेको छ । सो रकम पुनः प्रभावकारी नहुने जानकारी लामिछानेका कानुन व्यवसायीलाई दिइसकिएको अदालतले जनाएको छ ।

यसपटक लामिछानेले बिगोको दामासाही हिस्सा सुनिश्चित गर्न भन्दै २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत उच्च अदालतमा पेस गरेका थिए । सो जमानतलाई प्रमाणीकरण र सनाखत गरेपछि मात्र प्रक्रिया अगाडि बढाइने तहसिलदार पौडेलले बताए ।

उच्च अदालतको पत्र प्राप्त भएपछि रुपन्देही जिल्ला अदालतमा उपस्थित गराउन लामिछानेलाई त्यहाँ लैजाने तयारी भइरहेको उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतले बताएका छन् ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले पनि अदालतको आदेश अनुसार सम्पूर्ण प्रक्रिया पूरा भएपछि मात्रै रिहा गरिने स्पष्ट पारेका छन् । “अदालतबाट औपचारिक पत्र आएपछि मात्र हामी थुनामुक्त गर्छौँ,” उनले भने ।

यसैबीच, उच्च अदालतले लामिछानेलाई विदेश यात्रा गर्नु परे अदालतलाई पूर्व जानकारी दिनुपर्ने सर्त समेत लगाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: