
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा एक जनालाई पक्राउ गरेको छ। बिहीबार दिउँसो करिब १२:२० बजेको समयमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.३१ बाँसपानी बस्ने वर्ष ७५ की दाल कुमारी परियारमाथि धारिलो हतियार प्रहार गरी हत्या गरी गरगहना लुटपाट गरी फरार भएको सूचना प्राप्त भएपछि प्रहरीले तत्काल अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनाको सूक्ष्म अनुसन्धान गर्दै जाँदा उक्त घटनामा संलग्न मृतककै नाती वर्ष २२ का आशिष परियार रहेको खुलेको हो। प्रहरी टोलीले उनलाई पोखरा महानगरपालिका वडा नं। १० बुद्धचोक क्षेत्रबाट सुनका गरगहना सहित पक्राउ गर्न सफल भएको छ।
पक्राउ परेका व्यक्तिलाई सम्मानित कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा ७ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
बरामद सामानहरूमा सुनजस्तो देखिने पहेँलो रङका कानमा लगाउने रिङ २ थान, साना मुन्द्रा ४ थान (डिजिटल तराजुमा तौल गर्दा ७२ लाल), घटनामा प्रयोग भएको बन्चरो १ थान तथा चक्कु १ थान रहेका छन् । प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।
