
पोखरा । भूपू विद्यार्थी मञ्च, श्री आनन्द ज्योति माध्यमिक विद्यालय बेगनास को अध्यक्षमा सुशीला अधिकारी सिग्देल सर्वसम्मत निर्वाचित भएकी छन्। शनिबार सम्पन्न मञ्चको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट उनी अध्यक्षमा चयन भएकी हुन्।
अधिवेशनले उपाध्यक्षमा कृष्णराज आचार्य, सचिवमा अर्जुन पौडेल र कोषाध्यक्षमा केशबराज तिवारी लाई निर्वाचित गरेको छ। सदस्यहरूमा गोमा सोती, टेकनाथ पोख्रेल, प्रकाश सापकोटा, अनिता अधिकारी पोख्रेल, शिवहरी सुवेदी, रोशन तिवारी र सूर्य सुबेदी चयन भएका छन्।
संस्थाका सल्लाहकार चन्द्रबहादुर सुबेदी संयोजक तथा सल्लाहकार चिरञ्जीवी अधिकारी र श्री आनन्द ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारी सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गर्दै सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो।
कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ३१ का वडा अध्यक्ष ढकनाथ कडेल ले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर हुन्छ भन्ने भाष्यलाई आनन्द ज्योति माविले तोडेको बताए। उनले गत वर्षको एसईई परीक्षामा यस विद्यालयले साविक लेखनाथ क्षेत्रमै निजी र सामुदायिक दुवै विद्यालयमध्ये शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने एकमात्र विद्यालय बनेको उल्लेख गर्दै विद्यालयको उपलब्धि प्रशंसनीय रहेको बताए।
वडा अध्यक्ष कडेलले विद्यालयको शैक्षिक गुणस्तर अझ सुदृढ बनाउन वडा कार्यालय, विद्यालय र भूपू विद्यार्थी मञ्चबीच सहकार्य गर्दै अघि बढ्न आफू तयार रहेको स्पष्ट पारे। उनले आगामी वर्षहरूमा पनि शतप्रतिशत नतिजा कायम राख्न सबै सरोकारवाला आ–आफ्नो स्थानबाट सक्रिय हुनुपर्नेमा जोड दिए।
आनन्द ज्योति माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक फडिन्द्र मोहन शर्मा अधिकारी ले भूपू विद्यार्थी मञ्चले रचनात्मक गतिविधि सञ्चालन गरिरहेकोमा खुसी व्यक्त गर्दै शैक्षिक गुणस्तर सुधारमा पनि मञ्चले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। उनले सबै पूर्व विद्यार्थीलाई एउटै छानामुनि समेट्न मञ्च सफल हुनुपर्नेमा जोड दिए।
संस्थाका सल्लाहकार चिरञ्जीवी अधिकारी ले मञ्चले पूर्व विद्यार्थीलाई क्रमशः संगठित बनाउँदै लगेको उल्लेख गर्दै विद्यालयसँग अझ सशक्त सहकार्य गर्दै रचनात्मक कार्यमा अग्रसर हुनुपर्ने बताए।
मञ्चका अध्यक्ष विकासप्रसाद कडेल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज अधिकारी, प्रधानाध्यापक शिवराज अधिकारी, मञ्चका संस्थापक सचिव श्रीराम कडेल, पूर्व सल्लाहकार पार्बती थापा कार्की लगायतले धारणा राखेका थिए। कार्यक्रमको स्वागत मन्तव्य मञ्चकी उपाध्यक्ष सुशीला अधिकारी सिग्देल ले व्यक्त गरेकी थिइन् भने सञ्चालन सचिव कृष्णराज आचार्य ले गरेका थिए।
साधारणसभाको अवसरमा हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयबाट एसएलसी (२०६६) मा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने मेलिना सुनार र एसईई मा सर्वोत्कृष्ट अंक ल्याउने करिना सापकोटा लाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। त्यस्तै, संस्थालाई विभिन्न समयमा आर्थिक सहयोग पुर्याउने अक्षयकोषदाता तथा पूर्व सल्लाहकार पदमराज पौडेल, शुभचिन्तक किरण छत्कुली तथा विद्यालय परिवारलाई कदरपत्रसहित सम्मान गरिएको थियो।
छैटौँ साधारणसभामा अध्यक्ष विकासप्रसाद कडेल र कोषाध्यक्ष अर्जुन पौडेलले प्रस्तुत गरेका साङ्गठनिक र आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएका छन्। साधारणसभाकै अवसरमा मञ्चका नवनिर्वाचित सदस्य रोशनराज तिवारी ले विद्यालयको बस सञ्चालनका लागि आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन्।
