
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले पुनः सभापतिको कार्यभार सम्हालेपछि पार्टीको केन्द्रीय कमिटी बैठक बसेको छ। आज अपरान्ह ४ बजे सभापति लामिछानेकै अध्यक्षतामा बैठक सम्पन्न भएको हो। बैठकमा सभापति लामिछानेको अनुपस्थितिमा कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका डिपी अर्याल ले पार्टीलाई संगठित, संयमित र अनुशासित रूपमा अगाडि बढाएको भन्दै उनको नेतृत्व क्षमताको उच्च प्रशंसा गरिएको छ। सभापति लामिछानेले पनि कठिन समयमा पार्टीको जिम्मेवारी सम्हालेकोमा अर्यालप्रति कृतज्ञता व्यक्त गरे।
सभापति लामिछानेले पार्टीका केन्द्रीयदेखि तल्लो तहसम्म जिम्मेवारीमा रहेका सबै नेता-कार्यकर्तालाई आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरे।
“हामी अहिले उत्साहित हुन सक्छौँ, तर उत्सव मनाउने बेला होइन,” उनले भने, “अझै धेरै संघर्ष बाँकी छ, धेरै जिम्मेवारी पूरा गर्न बाँकी छन्।” उनले पार्टीका सबै तहका नेताहरूलाई संयम, अनुशासन र जिम्मेवारीबोधका साथ अघि बढ्न आग्रह गरे।
बैठकका क्रममा सभापति लामिछाने भावुक पनि बने। उनले कार्यवाहक सभापति डिपी अर्यालसँग जोडिएको एउटा स्मरणीय प्रसङ्ग साझा गरे। लामिछानेका अनुसार एकपटक अर्याल उनलाई भेट्न नख्खु कारागार पुगेका थिए। सो अवसरमा अर्यालले भनेका शब्द उनले बैठकमा जस्ताको तस्तै सुनाए।
“पार्टीको नेतृत्व कार्यवाहकलाई दिन मिल्छ भने कारागारको बसाइ पनि कार्यवाहकलाई दिन मिल्दैन ? यदि मिल्छ भने तपाईंको भागमा म भित्र बस्न तयार छु। देशलाई अहिले तपाईंको खाँचो छ, तपाईं बाहिर जानुस्,” अर्यालले भनेका थिए। लामिछानेले सो प्रसङ्गले पार्टीभित्रको एकता, त्याग र समर्पण झल्काउने उल्लेख गर्दै रास्वपाको आगामी यात्रामा यस्तै भावना मार्गदर्शक बन्ने विश्वास व्यक्त गरे।
