
पोखरा। माछापुच्छ्रे मिडिया एण्ड मल्टिपर्पोज प्रा.लि. ले पाँचौँ पोथाना कप ७-ए-साइड फुटबल प्रतियोगितामा उपविजेता बनेका मर्दीसेति डटकम का खेलाडीलाई सम्मान गरेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका-७ स्थित पोथना सेतीग्रहा खेलमैदानमा सम्पन्न प्रतियोगितामा मर्दीसेति डटकम समूह फाइनल खेलमा विट कपसँग ४-१ गोल अन्तरले पराजित हुँदै उपविजेता बनेको थियो। प्रतियोगितामा उपविजेता बनेसँगै मर्दीसेतिले नगद ४० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो।
माछापुच्छ्रे मिडिया एण्ड मल्टिपर्पोज प्रा.लि. ले शनिबार आयोजित विशेष कार्यक्रममा टिमका खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरी सम्मान गरेको हो। सम्मानित हुनेहरूमा टिम कोच कृष्णमान श्रेष्ठ, टिम क्याप्टेन सौरव कार्की तथा खेलाडीहरू विकल भण्डारी, राज क्षेत्री, सरोज दाहाल, राजन केसी, अलिस बुढाथोकी, एञ्जल कुँवर, समीर कुँवर, सागर नेपाली र सोहित थापा मगर रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेश महिला फुटबल टोलीका मुख्य प्रशिक्षक सुविन श्रेष्ठ ले माछापुच्छ्रे मिडियाले स्थानीय खेलाडीको हौसला बढाउने काम गरेको भन्दै प्रशंसा गरे। “खेलकुद क्षेत्रको विकासका लागि यस्ता संस्थागत पहल आवश्यक छन्, मेरो तर्फबाट पनि सक्दो सहयोग रहनेछ,” उनले प्रतिबद्धता व्यक्त गरे।
माछापुच्छ्रे मिडिया एण्ड मल्टिपर्पोज प्रा.लिका सल्लाहकार प्रकाशचन्द्र सापकोटा ले सूचना प्रविधिसँगै खेलकुद क्षेत्रमा समेत अग्रसर भएर खेलाडीलाई अवसर र प्लेटफर्म प्रदान गर्नु सराहनीय काम भएको बताए।
हेमजा युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठ ले प्रा.लिका हरेक गतिविधिमा संस्था र आफ्नो तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए।माछापुच्छ्रे मिडिया एण्ड मल्टिपर्पोज प्रा.लिका अध्यक्ष निराजन अधिकारी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेमजा युनाइटेडका सदस्य मनोज त्रिपाठी ले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने मर्दीसेति डटकमका सम्पादक विष्णु प्रसाद दाहाल ‘आभाष’ ले कार्यक्रम सञ्चालन गरेका थिए।

