रिभानमा एसीएपीको ३९औँ वार्षिकोत्सव, संरक्षण र समृद्धिको सन्देशसँगै विविध कार्यक्रम सम्पन्न

Share:

पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ रिभानमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एसीएपी) को ३९औँ वार्षिकोत्सव तथा संरक्षण दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। संरक्षण क्षेत्र व्यवस्थापन समिति रिभान र माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ को संयुक्त आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा शुक्रबार संरक्षण दिवस मनाइएको हो।

नेपाल सरकारले २०४९ साल साउन ५ गते राजपत्रमा संरक्षण दिवस मनाउने निर्णय गरेसँगै राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले प्रत्येक वर्ष डिसेम्बर १० मा विविध कार्यक्रम गर्दै आएको छ। दिवसको अवसरमा मावि स्तरीय हाजिरजवाफ प्रतियोगिता, संरक्षण क्षेत्र व्यवस्थापन समिति स्तरीय सामूहिक नृत्य, विद्यालय स्तरीय चित्रकला प्रतियोगिता तथा कृषि प्रदर्शनी आयोजना गरिएको थियो।

मावि स्तरीय हाजिरजवाफ प्रतियोगितामा निष्पक्ष मावि रिभान प्रथम, उदय मावि धम्पुस द्वितीय, गौरीशंकर मनिलाल मावि सैतीघट्टा तृतीय तथा शुक्ला गण्डकी मावि घाचोक सान्त्वना भएका थिए। सामूहिक नृत्य प्रतियोगितातर्फ संरक्षण क्षेत्र व्यवस्थापन समिति घाचोक प्रथम, सार्दीखोला द्वितीय, धम्पुस तृतीय र रिभान सान्त्वना बनेका थिए भने ल्वाङ घलेल ले प्रोत्साहन पुरस्कार प्राप्त गरेको थियो।

विद्यालय स्तरीय चित्रकला प्रतियोगितामा निष्पक्ष माविका सनोज विक प्रथम, उदय माविका खगेन रसाइली द्वितीय, महेन्द्र माविका आदित्य अधिकारी तृतीय तथा अन्नपूर्ण आधारभूत विद्यालयका ईशान तामाङ सान्त्वना भए। कृषि प्रदर्शनीअन्तर्गत मसला बालीतर्फ वडा नं. ५ का विष्णु क्षेत्री प्रथम, सिता लामिछाने द्वितीय र वडा नं. ७ का प्रेम सुनार तृतीय भए। फलफूलतर्फ वडा नं. ३ का देवीलाल शर्मा प्रथम, वडा नं. ५ का खिमलाल पौडेल द्वितीय, वडा नं. ७ का रामबहादुर भण्डारी तृतीय तथा वडा नं. १ की मनीषा गुरुङ सान्त्वना बने।

तरकारीतर्फ वडा नं. ४ का अमृत अधिकारी प्रथम, वडा नं. ३ का जगदीश लम्साल द्वितीय र तुलसी आचार्य तृतीय भए। कृषि प्रदर्शनीतर्फ प्रेम सुनार र रिभान कृषि सहकारी संस्था लिमिटेड ले विशेष पुरस्कार प्राप्त गरे। विजयीहरूलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो। संरक्षणमा योगदान पुर्‍याएका व्यक्ति तथा संस्थालाई पनि कार्यक्रममा सम्मान गरिएको थियो। संरक्षण किसान सम्मान बाट रिभानकी राधिका ढुङ्गाना, हरियाली कार्यक्रममा सहयोग पुर्‍याउने देवीलाल लामिछाने तथा साबिक रिभान वन व्यवस्थापन उपसमिति सम्मानित भए। उनीहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ ले संरक्षण क्षेत्रबाट आयआर्जन र स्थानीय राजस्व वृद्धि गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए। “वडा नं. ६ बाहेक पालिकाका सबै वडा संरक्षण क्षेत्रसँग जोडिएका छन्, नियमावलीमा केही संशोधन आवश्यक देखिएकाले म निरन्तर पहल गरिरहेको छु,” उनले भने, “केही विमतिका बाबजुद पनि स्थानीयको आयआर्जन र पालिकाको राजस्व वृद्धि गर्न हामी हातेमालो गरेर अघि बढ्नुपर्छ।” उनले किसानलाई बाँदर आतंकले समस्या पारेको भन्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका आयोजना प्रमुख डा. रविन कडरिया ले संरक्षण आयोजनाले नाङ्गा पाखा हरियाली बनाउने, स्थानीयलाई आयआर्जनमा जोड्ने, शिक्षा, सिँचाइ, खानेपानी तथा पछिल्लो समय पर्यटन विकासमा समेत योगदान पुर्‍याउँदै आएको उल्लेख गरे। “आगामी दिनमा स्थानीयसँग अझ सशक्त सहकार्य गर्दै अघि बढ्छौं,” उनले भने। माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सिता अधिकारी ले संरक्षण क्षेत्रमा स्थानीयको दक्खल र सहभागिता बढाउँदै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताइन्।

कार्यक्रममा वडा नं. ९ का अध्यक्ष हरिबहादुर क्षेत्री, एसीएपी इलाका संरक्षण कार्यालय ल्वाङका प्रमुख लेखनाथ गौतम, रेन्जर सुदिप केसी, संरक्षण क्षेत्र व्यवस्थापन समिति घाचोकका अध्यक्ष रविलाल पोख्रेल, ल्वाङ घलेलका अध्यक्ष ओमप्रकाश गुरुङ, राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान कास्कीका अध्यक्ष परशुराम अधिकारी लगायतले धारणा राखेका थिए। सो अवसरमा वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरूले संरक्षणसम्बन्धी सचेतनामूलक नाटक प्रस्तुत गरेका थिए। संरक्षण क्षेत्र व्यवस्थापन समिति रिभानका अध्यक्ष तोरणबहादुर गुरुङ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ५ का अध्यक्ष नारायणप्रसाद पौडेल ले स्वागत मन्तव्य र समितिका सचिव शिवप्रसाद भुसाल ले कार्यक्रम सञ्चालन गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: