
पोखरा । एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ। महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा स्पष्ट देखिएको छ। महोत्सवको रौनक बढेसँगै कृषि, जडीबुटी, खाद्यान्नदेखि दुग्धजन्य पदार्थ र फलफूलसम्मका स्टलहरूमा घुइँचो लागेको छ।
विशेषगरी जैविक कृषि उत्पादन, प्राकृतिक जडीबुटी, स्थानीय खाद्यान्न, माछा तथा फलफूल को व्यापार उल्लेखनीय रूपमा बढेको स्टल सञ्चालकहरूले बताएका छन्। स्थानीय र शुद्ध उत्पादनप्रति उपभोक्ताको बढ्दो चासोले महोत्सवलाई थप जीवन्त बनाएको छ। महोत्सव स्थलको स्टल नं. २८ मा मुस्ताङको चोहोेर गाउँपालिका-९ की ५० वर्षीया पासाङ आयो पहिलो पटक सहभागी भएकी हुन्। पहिलो सहभागितामै व्यापार उत्साहजनक भएपछि उनी निकै हर्षित देखिन्छिन्। जिम्बु, टिमुर, विरैनुन, जाइफल, हर्रो लगायतका प्राकृतिक जडीबुटी बिक्री गर्दै आएकी आयोले दैनिक करिब १५ हजार रुपैयाँ बराबरको नगद कारोबार भइरहेको बताइन्। शुद्ध र स्थानीय उत्पादन खोज्ने ग्राहकको संख्या बढ्दै जानुले आफूलाई थप हौसला मिलेको उनको भनाइ छ।
त्यसैगरी स्टल नं. ३५ मा रहेको शीतल जडीबुटी का सञ्चालक तथा पोखरा महानगरपालिका वडा नं. ३१ का वैद्य जयबहादुर थापा विगत २१ औँ संस्करणदेखि निरन्तर महोत्सवमा सहभागी हुँदै आएका छन्। उनले यस वर्ष पनि महोत्सवबाट लाखौँ रुपैयाँको कारोबार भएको जानकारी दिए। चौटा जोर, कुरिलोको जरा, हर्रो, बर्रो र सिखारीको लहरा जस्ता जडीबुटी विशेषगरी महिला ग्राहकको रोजाइमा परेको उनले बताए।
स्थानीय खाद्य तथा माछा व्यवसाय पनि महोत्सवमा फस्टाएको छ। स्टल नं. ९ मा रहेको बेगनास माछा पसल का सञ्चालक नारायण नेपालीले दैनिक करिब ६० हजार रुपैयाँ बराबरको ताजा माछा बिक्री भइरहेको जानकारी दिए। स्थानीय उत्पादनलाई प्राथमिकता दिने उपभोक्ताका कारण व्यापार बढेको उनको भनाइ छ। स्टल नं. ३६ मा रहेको स्मार्ट बहुउद्देश्यीय कृषि फर्म का सञ्चालक राहुल थापाले सिरम्ला, काउनु, मस्यौरा, फापर लगायतका परम्परागत खाद्यान्नको व्यापारबाट दैनिक करिब ५० हजार रुपैयाँ बराबरको कारोबार भइरहेको बताए। परम्परागत खानाप्रति युवा पुस्ताको आकर्षण बढ्दै जानुले आफूहरू उत्साहित भएको उनले बताए।
दुग्धजन्य पदार्थको व्यापार पनि महोत्सवमा राम्रो देखिएको छ। स्टल नं. २८७ मा रहेको तालचोक डेरी पसल सप का सञ्चालक पवित्रमणि पौडेलका अनुसार दूधबाट बनेका विभिन्न परिकारको बिक्रीबाट दैनिक २५ हजार रुपैयाँभन्दा बढी नगद कारोबार भइरहेको छ। जाडो मौसम सुरु भएसँगै खुवा र कुराउनीको माग बढेको उनले बताए।
फलफूल व्यवसाय पनि दर्शकको आकर्षण बनेको छ। स्टल नं. २९६ मा रहेको गुरुङ फलफूल पसल का ईश्वर गुरुङले दैनिक ३० हजार रुपैयाँभन्दा बढी सुन्तला तथा अन्य फलफूल बिक्री भइरहेको जानकारी दिए। प्रचारप्रसार संयोजक ध्रुवबाबु भट्टराई का अनुसार महोत्सवको चौथो दिन मात्र करिब एक करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने करिब २५ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन्।
महोत्सवमा व्यापारसँगै सांस्कृतिक गतिविधिले पनि रौनक थपेको छ। आइतबार शिवेश्वर महिला समूह पोखरा-२९, बयेर पाके महिला कृषक समूह पोखरा-३० र मातृशिशु कल्याण आमा समूह पोखरा-२८ ले रत्यौली प्रस्तुति दिएका थिए। विद्यालयस्तरीय प्रस्तुतिअन्तर्गत त्रिवेणी पब्लिक, एपेक्स प्रि-स्कुल, बीएमजी मावि र लक्ष्मी आदर्श बहुमुखी क्याम्पसको प्रस्तुति रहेको थियो भने नृत्यतर्फ सैनिक बस्ती गुप्र नं. १ ले घाँटु नाच प्रस्तुत गरेको थियो।
कलाकारतर्फ आइतबार लोकदोहोरीमा जीवन दाहाल, कृष्ण अखेली, कला लम्साल, शिवहरी ढुङ्गाना, रमा गौतम, सन्तोष सुवेदी र पूजा तामाङको प्रस्तुति रहेको थियो भने सुगम संगीततर्फ बसन्त सापकोटा, सन्तोष बस्याल र बिन्दु परियारले दर्शकलाई मन्त्रमुग्ध बनाए।आयोजकका अनुसार महोत्सवमा लोकदोहोरी, हास्यव्यङ्ग्य तथा सांगीतिक प्रस्तुति अझै जारी रहनेछ। महोत्सवले स्थानीय उत्पादन र साना व्यवसाय प्रवद्र्धन गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको भन्दै व्यवसायी तथा आयोजकहरूले सन्तुष्टि व्यक्त गरेका छन्।
