
पोखरा। साहित्यकार तथा गीतकार चन्द्रावती वाग्ले को नयाँ कृति ‘कहरको त्यो समय’ आज एक विशेष समारोहबीच लोकार्पण गरिएको छ। गिताञ्जली साहित्य परिवार पोखरा र नारी वाङ्मय प्रतिष्ठान पोखराको संयुक्त आयोजनामा पोखरा-११ स्थित गीतामन्दिर मा आयोजित कार्यक्रममा कृतिको सार्वजनिक विमोचन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार माधव बियोगी तथा सभापति गिताञ्जली साहित्य परिवार पोखराका अध्यक्ष भानुभक्त भण्डारी ‘क्षितीज’ ले प्रा.डा. कुसुमकर न्यौपाने सँगै कृतिको लोकार्पण गरे।
कृतिमाथि परिचर्चा गर्दै प्रा.डा. कुसुमकर न्यौपानेले कोभिड-१९ कोरोना महामारीको कहर लाई विषयवस्तु बनाएर रचिएको कविता संग्रह ‘कहरको त्यो समय’ ले समाजका पीडा, संघर्ष र मानवीय संवेदनालाई प्रभावकारी ढङ्गले प्रस्तुत गरेको उल्लेख गरे। उनले संग्रहका विविध पक्ष, विषयवस्तु र काव्यगत विशेषतामाथि गहिरो विश्लेषण प्रस्तुत गरे।
नारी वाङ्मय प्रतिष्ठान पोखराकी सचिव लक्ष्मी थापा ले सञ्चालन गरेको कार्यक्रममा गिताञ्जली साहित्य परिवार पोखराका पूर्व अध्यक्ष शिवप्रसाद गौतम ले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने स्रष्टाको परिचय साहित्यकार प्रतिभा शर्मा तिमिल्सीना ले गराएकी थिइन्।
कार्यक्रममा अग्रज साहित्यकारहरू छबिलाल आचार्य, शिव त्रिपाठी, नरेन्द्र रानाभाट, ढुण्डीराज ज्ञवाली लगायतले रचना वाचन गरेका थिए। त्यस्तै वसन्त चालिसे, छन्दमणि त्रिपाठी, छन्दिका त्रिपाठी लगायतले कृतिको सफलताको कामना व्यक्त गर्दै शुभकामना मन्तव्य राखेका थिए।
दर्जनौँ साहित्यिक कृतिहरू बजारमा ल्याइसकेकी वाग्ले विभिन्न साहित्यिक तथा सामाजिक संघ-संस्थाबाट सम्मानित हुँदै आएकी छन्। समाजका विविधता र यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्नु उनका कृतिहरूको विशेषता मानिन्छ।
गिताञ्जली साहित्य परिवार पोखराले प्रत्येक महिनाको पहिलो शनिबार आयोजना गर्ने ‘साधना प्रभात’ कार्यक्रमको अवसरमा सम्पन्न उक्त कार्यक्रममा पोखराका साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
