संकल्प सहकारीको १७औँ स्थापना दिवस संस्कृत विद्यालयमा सामाजिक उत्तरदायित्वसहित सम्पन्न

Share:

पोखरा । पोखरा महानगरपालिका-७ मासबारमा अवस्थित संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७औँ स्थापना दिवस पोखरा-१ भिमकालीपाटनस्थित श्री संस्कृत माध्यमिक विद्यालयमा विविध कार्यक्रमसहित मनाएको छ ।

स्थापना दिवसको अवसरमा सहकारीले विद्यालयमा अध्ययनरत ७० जना वटुकहरूलाई खाद्य सहयोग स्वरूप नगद हस्तान्तरण गर्दै सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गुरुकुल संयोजक विष्णु प्रसाद अधिकारीले गुरुकुलीय शिक्षामा आधारित संस्कृत शिक्षामा राज्यको पर्याप्त सहयोग नहुँदा संस्थागत तथा व्यक्तिगत सहयोगकै भरमा दुर्गम क्षेत्रबाट आएका बालबालिकाको लालन–पालन हुँदै आएको बताए।

हाल केही सहकारीहरू मुद्दा-मामिलामा परेको जटिल अवस्थाबीच पनि संकल्प सहकारीले आर्थिक चुनौतीका बाबजुद सामाजिक उत्तरदायित्व निर्वाह गर्न संस्कृत विद्यालयलाई रोजेकोमा उनले खुसी व्यक्त गरे।

उनले विभिन्न दाताहरूको सहयोगमा अक्षयकोष स्थापना गरिएको र सोही कोषमार्फत विद्यालय सञ्चालनलाई अझ सहज बनाउने लक्ष्य लिइएको जानकारी दिए।

कार्यक्रमकै अवसरमा १० हजार ५ सय रुपैयाँ नगद सहयोग प्रदान गर्ने दाताहरूलाई सहकारीका तर्फबाट आजिवन सदस्यताको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

प्रमाणपत्र सहकारीका कार्यवाहक अध्यक्ष मुकुन्दराज बराल, संस्थापक अध्यक्ष विष्णुहरी बराल तथा निवर्तमान अध्यक्ष एवं सल्लाहकारलाई प्रदान गरिएको हो ।

कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष विष्णुहरी बराल, विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण सिग्देल, गुरुकुल यज्ञाचार्य रामु पौडेल लगायतले सहकारी र संस्कृत शिक्षाको महत्वबारे धारणा राखेका थिए।

वटुकहरूको स्वस्ति शान्तिपाठबाट शुभारम्भ भएको कार्यक्रममा सहकारीका सह–सचिव मिना आचार्यले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव मधु अधिकारीले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: