
पोखरा । लेखनाथको पहिचान, स्थानीय उत्पादनको प्रवद्र्धन र आर्थिक चलायमानतासँग अभिन्न रूपमा जोडिँदै आएको लेखनाथ महोत्सव २१औँ संस्करणसम्म आइपुग्दा केवल मनोरञ्जनको उत्सवमा सीमित नरही कृषि, उद्योग, व्यापार र संस्कृतिको साझा मञ्चका रूपमा स्थापित भएको छ । २०६१ सालमा ‘सुन्तला महोत्सव’ का रूपमा सुरु भएको यो कार्यक्रम समयक्रमसँगै विस्तार हुँदै आज स्थानीय समृद्धिको बलियो आधार बनेको छ ।
विभिन्न राजनीतिक, सामाजिक र आर्थिक उतार-चढाव पार गर्दै २०८२ सालमा २१औँ संस्करण सफलतापूर्वक सञ्चालन हुनु आफैंमा यसको निरन्तरता र विश्वसनीयताको प्रमाण हो । हाल जारी २१औँ लेखनाथ महोत्सवले स्थानीय व्यापार-व्यवसायलाई उल्लेखनीय रूपमा चलायमान बनाएको छ ।
महोत्सवको पाँचौँ दिन सोमबार आयोजित कृषि बहस कार्यक्रमले कृषक, नीति निर्माता र उपभोक्ताबीच प्रत्यक्ष संवादको प्रभावकारी वातावरण सिर्जना गरेको छ । महोत्सव आयोजक संस्थाका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईका अनुसार लेखनाथ महोत्सवमार्फत हालसम्म करिब डेढ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार भइसकेको छ । साथै, २१औँ संस्करणसम्म आइपुग्दा करिब ४० लाख दर्शकले महोत्सव प्रत्यक्ष अवलोकन गरिसकेका छन् ।
महोत्सवले साना तथा मझौला व्यवसायीलाई प्रत्यक्ष लाभ पु¥याउँदै स्थानीय बजारलाई निरन्तर चलायमान बनाइरहेको उनको भनाइ छ ।सोमबार आयोजित कृषि बहस कार्यक्रममा विभिन्न क्षेत्रका कृषक तथा विज्ञहरूले आफ्ना अनुभव, चुनौती र सम्भावनाबारे धारणा राखेका थिए ।
माछापालक कृषक यज्ञप्रसाद आचार्यले व्यावसायिक माछापालनमा प्रविधि, बजार व्यवस्थापन र लगानीको भूमिकाबारे अनुभव साझा गरे ।
अलैंची कृषक सुरेन्द्रजङ्ग क्षत्रीले नगदे बालीका रूपमा अलैंची खेतीले ग्रामीण अर्थतन्त्रमा ल्याएको परिवर्तन र जोखिमबारे चर्चा गरे । पोल्ट्री व्यवसायी बाबुराम गिरले रोग व्यवस्थापन, बजार प्रतिस्पर्धा र व्यवसायिक उतार-चढावबारे आफ्ना अनुभव सुनाए ।
कार्यक्रममा वरिष्ठ बाली संरक्षण अधिकृत शालिकराम अधिकारीले कृषि मन्त्रालयका नीतिगत कार्यक्रम, अनुदान, प्रविधि हस्तान्तरण र कृषक लक्षित योजनाबारे जानकारी गराउँदै सरकार र कृषकबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।
कार्यक्रमको सहजीकरण पत्रकार सुरेन्द्र पौडेलले गरेका थिए। कृषि र व्यापारसँगै लेखनाथ महोत्सव संस्कृति र साहित्यको केन्द्रसमेत बनेको छ । सोमबार रत्यौली, विद्यालयस्तरीय सांस्कृतिक प्रस्तुति, नृत्य, लोकदोहोरी, सुगम संगीत तथा गायन कार्यक्रमहरू दर्शकको उत्साहजनक उपस्थितिमा सम्पन्न भइरहेका छन् ।
कवि शिरोमणि लेखनाथ पौड्यालको योगदान स्मरण गर्दै आयोजना गरिएको साहित्यिक कार्यक्रममा सहभागितामूलक प्रश्नोत्तर कार्यक्रम सञ्चालनमा छ । साहित्यिक कार्यक्रम संयोजक कृष्णप्रसाद ढुङ्गानाका अनुसार कवि लेखनाथ पौड्यालको जीवनी तथा कृतिमा आधारित २१ प्रश्न सोधिने र सही उत्तर दिने प्रत्येक विजेतालाई रु. १ हजार ५ सय पुरस्कार प्रदान गरिनेछ ।
यसै वर्ष कवि शिरोमणि लेखनाथ पौड्यालसम्बन्धी विषयमा विद्यावारिधि गरेका डा. बोधराज ढकाललाई विशेष अभिनन्दन गरिने कार्यक्रम पनि महोत्सवको प्रमुख आकर्षण बनेको छ ।
दर्शक र कारोबारमा उल्लेखनीय वृद्धि
प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईका अनुसार सोमबार मात्रै २८ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् । सोही दिन १ करोड १० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको जानकारी दिँदै आगामी दिनमा दर्शक संख्या र कारोबार अझै बढ्ने अपेक्षा गरिएको छ ।
स्थानीय उत्पादनको बजारीकरण, कृषकको हौसला, साना व्यवसायको प्रवद्र्धन र सांस्कृतिक पहिचान संरक्षणमा लेखनाथ महोत्सव प्रभावकारी माध्यम बन्दै गएको छ । अझै केही दिन सञ्चालन हुने महोत्सवले स्थानीय अर्थतन्त्रमा थप सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
