पोखरा उद्योग वाणिज्य संघद्वारा ४४० विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

Share:

पोखरा। जाडो मौसममा न्यानोपन र शिक्षामा निरन्तरता दिलाउने उद्देश्यसहित पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले पोखराका सामुदायिक विद्यालयमा अध्ययनरत ४ सय ४० जना विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ।

मंगलबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुली प्रमुख अतिथिका रूपमा सहभागी थिए। संघका अध्यक्ष गोकर्ण कार्की, पूर्वअध्यक्ष तथा सामाजिक विकास केन्द्रका अध्यक्ष राजेन्द्रकुमार लालचन, संघका पदाधिकारी, कार्यसमितिका सदस्य तथा अतिथिहरूले संयुक्त रूपमा विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरे।

किडासा (KIDASA) को सहयोगमा प्रदान गरिएको उक्त सामग्री सामाजिक विकास केन्द्रले सञ्चालन गरिरहेको जीविकोपार्जन तथा शिक्षा कार्यक्रम अन्तर्गत सहरी क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारका विद्यार्थीलाई लक्षित गरिएको हो। पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमका अनुसार शिक्षा र आधारभूत आवश्यकतामा पहुँच सुनिश्चित गर्न यो कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पराजुलीले अभिभावकको दायित्व केवल छोराछोरीलाई विद्यालय पठाउनु मात्र नभई उनीहरूको दैनिक गतिविधि र आचरणप्रति पनि सजग रहनुपर्ने बताए। “असल मार्गदर्शन र निगरानीले मात्रै राष्ट्रले जिम्मेवार र असल नागरिक पाउँछ,” उनले भने।

संघका अध्यक्ष गोकर्ण कार्कीले स्थानीय सरकार र नागरिक समाजको सहकार्य भएमा श्रम तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाका लागि अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिने बताए। उनले सामाजिक उत्तरदायित्वलाई संघले सधैं प्राथमिकतामा राख्दै आएको उल्लेख गरे।

पोखरा उद्योग वाणिज्य संघले विगत २५ वर्षदेखि सहरी क्षेत्रका बालश्रमिक, घरेलु कामदार तथा उनीहरूका परिवारको हितका लागि शिक्षा, सीप विकास र सामाजिक सुरक्षासम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्
Share: