पोखरा सडक महोत्सवमा स्वप्न सुमन र केहर एण्ड द लुङ्गाको लाइभ प्रस्तुति

Share:

पोखरा। पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा आयोजना हुने सांगीतिक उत्सवमा वर्तमान समयका चर्चित व्याण्ड स्वप्न सुमन र केहर एण्ड द लुङ्गाको लाइभ प्रस्तुति रहने भएको छ। रेवान पोखराको आयोजनामा लेकसाइड क्षेत्रमा सञ्चालन हुने महोत्सवको न्यू इयर इभ विशेष कार्यक्रम ‘हिट्स अफ नाइन्टिज’ अन्तर्गत पुस १५ गते दुवै व्याण्डले स्टेज तताउने छन्।

आयोजक अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङका अनुसार पुस १५ गते दिउँसो तमु (गुरुङ) समुदायको ल्होसार कार्यक्रम हुनेछ भने अपराह्न ४ बजेदेखि स्वप्न सुमन र केहर एण्ड द लुङ्गाको सांगीतिक प्रस्तुति सुरु हुनेछ। सो दिन चक्र व्याण्डको प्रस्तुति पनि रहनेछ।

लाइभ कन्सर्टमा लोकप्रिय गायक स्वप्न सुमनले जे छौं तिमी, कसरी भनूँ तिमीलाई, बाचा भयो, म तिम्रो लगायतका चर्चित गीत प्रस्तुत गर्नेछन्। दिउँसोको कार्यक्रममा प्रिती आले, देउराली व्याण्डका पूर्व गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालको प्रस्तुति रहनेछ। साथै दीवा कार्यक्रमतर्फ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायत कलाकारले दर्शकलाई मनोरञ्जन दिनेछन्।

त्यस्तै, केहर एण्ड द लुङ्गाले सररर, तिमीलाई सम्झेर, बैगुनी, तिमी बिना जस्ता भाइरल गीतहरू लाइभ व्याण्डमार्फत प्रस्तुत गर्नेछन्। दुवै व्याण्डका गीतहरू अहिले युवामाझ अत्यन्त लोकप्रिय रहेकाले पोखरेली दर्शकको विशेष रोजाइ बन्ने अपेक्षा गरिएको गुरुङले बताए।

न्यू इयर इभको दिन पुस १६ गते बेलुकादेखि मध्यरातसम्म सञ्चालन हुने हिट्स अफ नाइन्टिज कार्यक्रमको मुख्य आकर्षणका रूपमा एक्स नेपथ्य रहनेछ। करिब तीन दशकपछि पोखरामा गुञ्जिन लागेको उक्त व्याण्डका स्थापनाकालीन गायक रविन श्रेष्ठ र गौतम गुरुङले लाइभ प्रस्तुति दिनेछन्। रविन श्रेष्ठले छेक्यो छेक्यो देउराली डाँडा, आँगनै भरी, नक्कली कान्छी जस्ता गीत गाउनेछन् भने गौतम गुरुङले जोमसोमै बजार, गण्डकीको तिरैमा, झरीले रुझेको आकास, यार्लिङ कहाँ खस्यो ? लगायतका चर्चित गीत प्रस्तुत गर्नेछन्।

अल टेक नेपालको आयोजनामा हुने सांगीतिक उत्सवमा एक्स नेपथ्यसँगै डि-मर्चा, लेकाली, देउराली र उज्जन शाक्यको पनि लाइभ व्याण्ड प्रस्तुति रहनेछ। साथै न्यू इयर इभलाई थप विशेष बनाउन चर्चित डान्स ग्रुप कार्टुन क्रुजकी आस्मा विश्वकर्माको विशेष नृत्य प्रस्तुति रहनेछ। उनले अहिले भाइरल छिकिरी छिकिरी लगायतका गीतमा नृत्य प्रस्तुत गर्ने जनाइएको छ।

यसैबीच, पुस १४ गते अन्तरविद्यालय खुला नृत्य प्रतियोगिता आयोजना हुनेछ भने दिउँसोदेखि साँझसम्म इन्टर स्कुल व्याण्ड कम्पिटिसनका विजेता तथा उपविजेताहरूको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन्।

कमेन्ट गर्नुहोस्
Share: