
पोखरा। पोखरा कलेज अफ म्यानेज्मेन्टको आयोजनामा तथा युनिभर्सिटी ग्रान्ट कमिसनको सहयोगमा सञ्चालन गरिएको एन्टरप्रोनियरशिप सपोर्ट प्रोग्राम अन्तर्गतको ‘स्मार्ट एग्रोप्रेनरशिप एजुकेशन एण्ड ट्रेनिङ’ कार्यक्रम पोखरामा सम्पन्न भएको छ।
पाँच दिनसम्म सञ्चालन भएको ४० घण्टे तालिममा व्यवसायिक कृषिसम्बन्धी व्यावहारिक सीपका साथै सैद्धान्तिक पक्षमा समेत गहन छलफल गरिएको थियो। तालिमको अन्तिम दिन सोमबार सहभागी ३० जना विद्यार्थीले आ-आफ्ना कृषि व्यवसायिक योजना प्रस्तुत गर्दै प्रतिस्पर्धा गरेका थिए।
तालिममा बीबीए तथा बीसीआईएसका सातौँ र आठौँ सेमेस्टरमा अध्ययनरत तथा पछिल्ला पाँच वर्षभित्र उत्तीर्ण विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रस्तुत व्यावसायिक योजनामध्ये उत्कृष्ट ठहरिएका पाँच विद्यार्थीलाई नगद १०/१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।
पुरस्कृत हुने विद्यार्थीहरूमा अञ्जली पौडेल, प्रवास आचार्य, निशान क्षेत्री, दिपिका रिमाल र कृतिका पराजुली रहेका छन्। उनीहरूले यस्तो व्यावसायिक तालिम आयोजना गरेकोमा कलेजप्रति आभार व्यक्त गर्दै तालिमले आफूहरूलाई उद्यमशील बन्न थप हौसला प्रदान गरेको प्रतिक्रिया दिएका छन्।
कार्यक्रममा कलेजका बीसीआईएस आइटी संयोजक इ. हरि बरालले पुरस्कृत विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरे। कलेजका अध्यक्ष विनोद कायस्थले तालिमका सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरे।
तालिममा उत्कृष्ट बनेका पाँचै जना विद्यार्थीहरू अब काठमाडौंमा हुने अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन्। काठमाडौँमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूले अधिकतम १ करोड रुपैयाँसम्मको प्रस्तावमा ४० प्रतिशतसम्म विना ब्याज ऋण प्राप्त गर्ने अवसर पाउनेछन्।
कार्यक्रमको अन्तिम दिन निर्णायक मण्डलमा पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, उद्यमी तथा अनुसन्धानकर्ता रबी भण्डारी र हरिलो एग्रो इन्डस्ट्रिज प्रालिका सह-संस्थापक प्रकाश आचार्य रहेका थिए । कार्यक्रमको सञ्चालन रिसर्च म्यानेज्मेन्ट कमिटी संयोजक डा. अर्जुन सिग्देलले गरेका थिए।
