
पोखरा। पोखरा महानगरपालिका वडा नं.१७ अन्तर्गत गाईघाट क्षेत्रमा फिर्के खोला र बुलौदी खोलाबाट बगेर आइ तालमा जम्मा भएको गेग्रान हटाउने कार्य सुरु गरिएको छ।
पोखरा महानगरपालिकाका अनुसार सो क्षेत्रमा करिब ४ हजार ५ सय ५० घनमिटर गेग्रान निकाल्ने योजना रहेको छ। लामो समयदेखि खोलाबाट बगेर आएको माटो, ढुंगा र फोहोरका कारण ताल क्षेत्र प्रभावित हुँदै आएपछि संरक्षणका लागि यो अभियान सुरु गरिएको हो।
गेग्रान हटाउने कार्य सम्पन्न भएपछि खोलाबाट पुनः फोहोरजन्य वस्तु तालमा प्रवेश गर्न नदिन २३ मिटर लामो चेक ड्याम निर्माण गरिने महानगरपालिकाले जनाएको छ। उक्त चेक ड्यामले खोलाको बहाव व्यवस्थापन गर्दै तालमा
पुग्ने फोहोर रोक्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। महानगरपालिकाले ताल संरक्षण, वातावरणीय सन्तुलन र बाढीजन्य जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै यस्तो अभियानलाई निरन्तरता दिने जनाएको छ।
