कोरियाली राजदूत र पोखरा महानगर प्रमुखबीच भेट, विकास र पर्यटन सहकार्यमा छलफल

Share:

पोखरा । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ योङले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेका छन्। महानगर प्रमुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको साझा हित र पोखराको विकास निर्माणका विषयमा छलफल भएको छ।

भेटका क्रममा कोरियाली सरकारको सहयोगमा पोखरामा सञ्चालित परियोजनाको प्रगतिबारे समीक्षा गरिएको थियो। नगर प्रमुख आचार्यले कोरियाली बजारमा पोखराको पर्यटन प्रवर्द्धन, परियोजनाहरूको कार्यान्वयन अवस्था र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सम्भावनाबारे राजदूतसँग कुरा राखेका थिए। साथै, उनले कोरियामा रहेका नेपाली विद्यार्थी तथा श्रमिकहरूको अवस्थाबारे पनि चासो व्यक्त गरे।

जवाफमा राजदूत पार्कले नेपालमा सहायता भित्र्याउने सन्दर्भमा नगर प्रमुखको सक्रियताको प्रशंसा गरे। उनले भने, ‘पोखरामा सञ्चालित परियोजना समयमै सम्पन्न हुनेछन् र यसले यहाँको दिगो विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ।’ अन्नपूर्ण क्षेत्रको पदयात्रामा धेरै कोरियाली पर्यटकको रुचि रहेकाले उनीहरूलाई प्रोत्साहन गर्ने राजदूत पार्कले बताए। उनले कोरियाबाट फर्किएका ‘रिटर्नी’ हरूले पोखरामा उद्यम गरेको देख्दा खुसी लागेको उल्लेख गरे।

नगर प्रमुख आचार्यले पोखरामा ‘बर्न अस्पताल’ स्थापनाका लागि कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले अध्ययन सम्पन्न गरिसकेको जानकारी दिए। हाल पोखरामा कोरियाको सहयोगमा हरित यातायात प्रणाली विकास र हरित रोजगारी सिर्जनासम्बन्धी ‘ग्रिन भेन्चर जोन’ (जिभिजेड) स्थापना लगायतका परियोजना सञ्चालनमा छन्।

भेटवार्तामा उपप्रमुख मञ्जुदेवी गुरुङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्य, प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारी, सूचना प्रविधि तथा अन्तर्राष्ट्रिय समन्वय विभाग प्रमुख सुवास ढुंगाना, इन्जिनियर नेत्र तिमिल्सिना लगायतको सहभागिता थियो।

कमेन्ट गर्नुहोस्
Share: