पोखरामा १६औँ राष्ट्रपति रनिङ शिल्ड र पाँचौँ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु

Share:

पोखरा। पोखरामा बुधबारदेखि १६औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौँ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता पौष ११ गतेसम्म सञ्चालन हुनेछ।

पोखरा रङ्गशालामा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले खेलकुद क्रमशः व्यवसायिक बन्दै गएको उल्लेख गरे। खेलकुदले देशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण माध्यम बनेको भन्दै उनले राष्ट्रिय एकताको प्रतीकका रूपमा खेलकुदको भूमिका उल्लेखनीय रहेको बताए।

“देश विभिन्न विषयमा विभाजित देखिए पनि खेलकुदले हामीलाई एकजुट बनाउने काम गरिरहेको छ,” मेयर आचार्यले भने, “ग्रासरुट तहबाट खेलाडी उत्पादन गर्न महानगरले विशेष ध्यान दिएको छ र त्यसको मुख्य आधार विद्यालय नै हो।” यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई जिल्ला, प्रदेश हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने आधार तयार गर्ने उनको विश्वास थियो।

कार्यक्रममा उपमेयर मञ्जुदेवी गुरुङले पर्यटनको राजधानी पोखरालाई खेलकुदको सहरका रूपमा स्थापित गर्ने लक्ष्यसहित महानगर अघि बढिरहेको बताइन्। विद्यालय तहका बालबालिकाको सर्वाङ्गीण विकासमा खेलकुदको भूमिका अत्यन्त महत्वपूर्ण भएकाले यसलाई प्राथमिकतामा राखिएको उनको भनाइ थियो।

पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले खेलकुदले व्यक्तिगत स्वास्थ्यसँगै समाजलाई नैतिकवान्, मूल्यवान् र एकताबद्ध बनाउन सहयोग पुर्‍याउने बताए। उनले प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई अनुशासनका साथ खेल्न आग्रह गरे।

खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारका अनुसार प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी सहभागी छन्। प्रतियोगितामा कुल ४०४ पदकका लागि उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरी छ विधामा प्रतिस्पर्धा हुनेछ।

उद्घाटन समारोहमा नेपालका नम्बर वान टेनिस खेलाडी प्रदीप खड्का, राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी अनिता बस्नेत र अञ्जना रानामगरको विशेष उपस्थिति रहेको थियो। उनीहरूसँग तस्बिर खिचाउन र अटोग्राफ लिन विद्यार्थीहरूको उल्लेखनीय भिड लागेको थियो।

समारोहमा ४० वटा विद्यालयका विद्यार्थीहरूले मार्चपास प्रस्तुत गरेका थिए भने उसुको डेमोन्स्ट्रेसन र सांस्कृतिक नृत्य कार्यक्रमले समारोहलाई थप आकर्षक बनाएको थियो।

समितिका अध्यक्ष दीपक बहादुर गोदारको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन सदस्य सचिव सुरज अधिकारीले गरेका थिए।

आयोजकका अनुसार प्रतियोगिताको पहिलो दिन बिहानैदेखि विभिन्न खेलहरू सञ्चालन भएका थिए। उद्घाटन खेल अन्तर्गत एथलेटिक्सतर्फ १५ सय मिटर छात्र दौडमा कालिका माविका सुजन नेपाली प्रथम, बालोदयका तेन्जोन रोका मगर द्वितीय र पश्चिमाञ्चल माविका रोशन पन्थ तृतीय भए। छात्रातर्फ छोरेपाटन माविकी नारायणी भण्डारी प्रथम, साधना परियार द्वितीय र गौरीशंकर माविकी कविता मगर तृतीय भइन्।

बिहीबार बिहानैदेखि पुनः विभिन्न खेलहरू सञ्चालन हुने आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: