
पोखरा । पोखरा महानगरपालिकाको आयोजनामा क्यामेरा मर्मतसम्बन्धी ३ सय ९० घण्टे तालिम पोखरा-४ टुँडाको पाटनस्थित पोखरा फोटोग्राफर संघको भवनमा शुरु भएको छ । तालिमको उद्घाटन पोखरा महानगरपालिका वडा नं. ४ का अध्यक्ष देवकृष्ण पराजुलीले गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले वर्तमान समयमा फोटोग्राफी हरेक कार्यक्रमको अनिवार्य अंग बनेको उल्लेख गरे । क्यामेरा मर्मतसम्बन्धी दक्ष जनशक्ति उत्पादन भए मर्मत खर्च घट्नुका साथै काठमाण्डौ जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास उनले व्यक्त गरे । यसले स्थानीय फोटोग्राफरलाई आत्मनिर्भर बनाउने समेत उनको भनाइ थियो ।
पोखरा फोटोग्राफर संघ कास्कीका अध्यक्ष भक्त तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया, तालिम संयोजक तृष्णा बस्ताकोटी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका शाखा प्रमुख नवराज अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने पोखरा फोटोग्राफर संघ कास्कीका पूर्व अध्यक्ष रवि दाहालले तालिमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
तालिमका प्रशिक्षक मदन सुब्बाले क्यामेरा मर्मतजस्तो प्राविधिक तालिम सञ्चालनका लागि सहयोग गरेकोमा पोखरा महानगरपालिकालाई धन्यवाद व्यक्त गर्दै तालिमलाई व्यवहारिक र उपयोगी बनाइने प्रतिबद्धता जनाए ।
उक्त तालिमले पोखरालाई क्यामेरा मर्मतको क्षेत्रमा सक्षम केन्द्रको रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
