
पोखरा । कास्कीको लेखनाथमा पुस ३ गतेदेखि सञ्चालनमा आएको २१औँ संस्करणको लेखनाथ महोत्सव यतिबेला किनबेच र मनोरञ्जनको प्रमुख केन्द्रका रूपमा स्थापित भएको छ । महोत्सवमा एकै स्थानमा मनोरञ्जनसँगै स्वदेशी तथा विदेशी सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध हुन थालेपछि महोत्सव स्थल व्यावसायिक गतिविधिको केन्द्र बनेको हो । महोत्सव अवलोकन गर्न आएका दर्शकहरू रमाइलो गर्दै आवश्यक सामग्री किनेर फर्कने गरेकाले पछिल्ला दिनहरूमा व्यापारिक कारोबार उल्लेख्य रूपमा बढ्दै गएको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष हरि बस्ताकोटीले बताए ।
महोत्सवमा करिब ३ सय ३६ वटा विभिन्न प्रकृतिका स्टलहरू सञ्चालनमा रहेका छन् । दैनिक उपभोग्य सामग्रीदेखि गार्मेन्ट, सवारी साधन, माछा, महलगायतका वस्तुहरू एकै स्थानमा उपलब्ध हुँदा दर्शकहरू आफूले खोजेको सामान उचित मूल्यमा पाएको बताउँदै सन्तुष्ट देखिएका छन् । व्यापारीहरू पनि अघिल्ला दिनको तुलनामा व्यापार बढेकाले उत्साहित रहेका छन् ।
स्वदेशमै उत्पादित वस्तुको बिक्री केन्द्रका रूपमा महोत्सव विकसित भएकाले उपभोक्ताले प्रत्यक्ष रूपमा उत्पादकसँग सामान खरिद गर्न पाउँदा सहुलियत मूल्यमा कारोबार भइरहेको छ ।
पुस १४ गतेसम्म सञ्चालन हुने महोत्सवको सातौँ दिन बुधबार मात्रै करिब ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अहिलेसम्म कुल कारोबार ६ करोड ८० लाख रुपैयाँ पुगेको स्टलमा गरिएको व्यापारको सर्वेक्षणले देखाएको छ । दर्शक तर्फ बुधबार मात्रै १७ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् भने हालसम्म १ लाख ९० हजार दर्शक महोत्सवस्थल पुगेको महोत्सव प्रचार–प्रसार उपसमितिका संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिए ।
मौसम अनुकूल रहेकाले मध्यान्हपछि दर्शकको चाप उल्लेख्य रूपमा बढ्ने गरेको छ । महोत्सव सकिन अझै केही दिन बाँकी रहेकाले आगामी दिनमा दर्शक र कारोबार दुवै बढ्ने अपेक्षा गरिएको छ ।
यसैबीच महोत्सवको सातौँ दिन रामजी खाँड, कृष्ण सुवेदी, जगत पौडेल, पार्वती जी.सी. रियार रतिमाया खड्का तथा बिन्दा परियारले सांगीतिक प्रस्तुति दिएका थिए । बेलुका कन्सर्टमा गायक अर्जुन सापकोटा, सहिमा श्रेष्ठसहित स्थानीय कलाकारहरूको प्रस्तुतिले स्टेज भरिएको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भइरहेको यो महोत्सवलाई गण्डकी प्रदेशकै नमुना र ऐतिहासिक महोत्सवका रूपमा चिनिने गरेको संघका पूर्व अध्यक्ष छत्रधर आत्रेयले दाबी गरे ।


