
पोखरा । पोखरा महानगरपालिका-१९ घार्मीमा रहेको गायत्री आधारभूत विद्यालयलाई रोटरी क्लब अफ प्याराडाइजले शैक्षिक तथा वातावरणीय सहयोग प्रदान गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा सामाजिक क्षेत्रमा सक्रिय क्लबले विद्यालयमा अध्ययनरत करिब २० जना विद्यार्थीलाई कापी, कलमलगायतका स्टेशनरी सामग्री वितरण गरेको विद्यालयकी प्रधानाध्यापक प्रमिला पौडेलले जानकारी दिइन् ।
कार्यक्रममा रोटरी क्लब अफ प्याराडाइजका अध्यक्ष भोजराज पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रमणि पौडेल, शिक्षक-अभिभावक संघका अध्यक्ष बाबुराम पौडेललगायतले विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरेका थिए ।
यसै अवसरमा क्लबले विद्यालय परिसरको फोहर व्यवस्थापनका लागि डस्टबिन तथा दुई थान ह्वाइट बोर्ड विद्यालयलाई हस्तान्तरण गरेको छ । सामग्रीहरू क्लबका अध्यक्ष पाण्डेले प्रधानाध्यापक पौडेललाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले रोटरी क्लबले शिक्षा, स्वास्थ्य तथा वातावरणीय सरसफाइजस्ता क्षेत्रमा निरन्तर रूपमा सेवा गर्दै आएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रमणि पौडेलले यस्ता सहयोगले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
प्रधानाध्यापक प्रमिला पौडेलले रोटरी क्लबले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै विद्यालय शैक्षिक गुणस्तर सुधारका लागि प्रतिबद्ध रहेको बताइन् ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष देवेन्द्र पराजुली, शिक्षक-अभिभावक संघका अध्यक्ष बाबुराम पौडेललगायतको सहभागिता रहेको थियो । क्लबका अध्यक्ष भोजराज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबकी सचिव जसिता गुरुङले गरेकी थिइन् ।

