
पोखरा । युनाइटेड क्लब पोखराको आयोजनामा आगामी पुस २९ गतेदेखि माघ ११ गतेसम्म अमरसिंह खेलमैदानमा सञ्चालन हुने १४औँ पोखरा महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवलाई सभ्य, भव्य र प्रभावकारी बनाउन मंगलबार महोत्सव सफलतापूर्वक सम्पन्न गर्न गठित उपसमिति तथा सल्लाहकारहरूको संयुक्त बैठक सम्पन्न भएको छ । बैठकले सबै पक्ष एकताबद्ध भएर महोत्सव सफल बनाउन लाग्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
बैठकमा बोल्दै महोत्सव सल्लाहकार डा. कृष्ण केसीले समय र परिस्थिति अनुसार महोत्सव सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै युनाइटेड क्लबले हालसम्म गरेका सामाजिक कार्यहरूको उपलब्धि महोत्सवमार्फत उजागर गर्नुपर्ने बताए । साथै, सरकारी निकायसँग सहकार्य गरी सेती नदी संरक्षणका कार्यक्रमलाई समेत प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
अमरसिंह माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक सुदीप आचार्यले विद्यार्थीको आकर्षण बढाउन उनीहरूले निर्माण गरेका सामग्रीहरूको प्रदर्शनी महोत्सवमा समावेश गर्न सुझाव दिए । अर्का सल्लाहकार टीकाबहादुर कार्कीले महोत्सव स्थल सधैं एउटै रहन नसक्ने भन्दै विकल्प खोज्नुपर्ने आवश्यकता औँल्याउँदै विभिन्न संघसंस्थासँग सहकार्य र समन्वय गरेर पोखराको पहिचान झल्किने कार्यक्रम ल्याउन आग्रह गरे ।
शंकरनाथ पौडेलले पोखरा महोत्सव गण्डकी प्रदेशकै उत्कृष्ट र राज्यलाई झक्झक्याउने महोत्सव भएको उल्लेख गर्दै १४औँ संस्करणमा लेखनाथ क्षेत्रको चिडियाखाना झल्किने प्रदर्शनीसँगै क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन क्षेत्रमा गरेका योगदानलाई प्रस्तुत गर्नुपर्ने बताए ।
वातावरणमैत्री महोत्सव सञ्चालन गर्नुपर्नेमा जोड दिँदै रामबहादुर पौडेलले महोत्सव पूर्वसन्ध्यामा सरसफाइ कार्यक्रमको अगुवाइ गर्ने प्रतिबद्धता जनाए । माधव गौतमले पोखरा महानगरपालिकाका ३३ वटै वडाको सहभागिता सुनिश्चित गर्न सके महोत्सवप्रतिको अपनत्व अझ बढ्ने बताए ।
यसैगरी बलराम ढुंगाना, इन्दिरा पन्त, राजेन्द्रराज बस्ताकोटी, सन्तोष सिग्देल, लीलाधर अधिकारीलगायतले साहित्य, संस्कृति, आकर्षक कलाकार, पार्किङ व्यवस्थापन र पोखरेली पहिचान झल्किने कार्यक्रम समेट्न सुझाव दिएका थिए ।
सुवेदार जसबहादुर गुरुङले उद्घाटनका अवसरमा आयोजना हुने झाँकी ¥यालीलाई व्यवस्थित गर्नुपर्ने बताउँदै अमरसिंह स्कुलका संस्थापक मेजर वीरसिंह तथा जग्गादाता देवराज घिमिरेलाई महोत्सवमा स्मरण गर्नुपर्ने धारणा राखे ।
१४औँ पोखरा महोत्सवका मूल समारोह संयोजक लोकबहादुर थापाले महोत्सवलाई सभ्य र भव्य बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए ।
युनाइटेड क्लब पोखराका संस्थापक अध्यक्ष हिमालय बख्रेलले सल्लाहकारहरू क्लबको ‘ब्याकबोन’ भएको उल्लेख गर्दै प्राप्त सुझावहरू कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे । पोखरा खुला चिडियाखानाको अभियान युनाइटेड क्लबकै पहलबाट अघि बढेको उल्लेख गर्दै अबको गन्तव्य आवासीय छात्रावास निर्माण रहेको बताए ।
कार्यक्रमको सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका थिए भने वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए । बैठकमा सल्लाहकारहरू रामजीप्रसाद बास्तोला, गुप्तबहादुर कार्कीलगायतले पनि आफ्ना धारणा राखेका थिए ।

