
पोखरा । पर्यटकीय राजधानी पोखराको लेकसाइडमा अवस्थित पोखरा बाटिका क्लासिक होटल स्थापना भएको नवौँ वर्षमा प्रवेश गरेको छ । नवौँ वार्षिकोत्सवको अवसरमा होटलले सामाजिक उत्तरदायित्व अन्तर्गत गौरिघाट आसपासको करिब ४ सय मिटर सडक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
होटलमा कार्यरत झन्डै ४० जना कर्मचारी सरसफाइ सामग्रीसहित सडकमा उत्रँदै पार्क, मन्दिर तथा आसपासका क्षेत्रमा झाडी फडान, नाला सफाइ र ट्यांकरको पानी प्रयोग गरी सडक सरसफाइमा जुटेका थिए ।
स्थापनादिवसकै अवसरमा होटल परिवारबीच शुभकामना आदान-प्रदान गरिएको थियो भने उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै होटलका अध्यक्ष सन्तोष पोखरेलले होटलले आठ वर्षको यात्रामा भोगेका आरोह-अवरोह स्मरण गर्दै विभिन्न चुनौती पार गर्दै आज पोखरा बाटिका क्लासिक होटल पोखराका प्रतिष्ठित होटलमध्ये एकका रूपमा स्थापित भइसकेको बताए ।
त्यस्तै होटल सञ्चालक प्रेमकृष्ण श्रेष्ठ र विमल कुमार नहर्कीले होटलको सफलताको पछाडि कर्मचारीहरूको लगनशीलता, मेहनत र धैर्यता प्रमुख आधार रहेको उल्लेख गर्दै सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल लाम्पाटनका प्रमुख एसपी अरुणकुमार शर्मा तथा विशेष अतिथि पत्रकार विनोद लामिछानेले होटल नवौँ वर्षमा प्रवेश गरेको अवसरमा बधाई ज्ञापन गर्दै आगामी यात्राको सफलताका लागि शुभेच्छा व्यक्त गरे ।
कर्मचारीको तर्फबाट मन्तव्य राख्दै होटलका म्यानेजर दीपेन्द्र पोखरेलले होटलको सफलतामा ‘टिमवर्क’ सबैभन्दा महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्दै सहकर्मीबीचको आत्मीयता र सहकार्य आगामी दिनमा अझ मजबुत बन्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा होटलकी कर्मचारी पूजा लामालाई उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएको थियो । साथै केक काटेर कर्मचारीको जन्मदिन मनाइनुका साथै कर्मचारीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी समारोहलाई अझ रौनकपूर्ण बनाएका थिए ।



