
पोखरा । खेल पर्यटनमार्फत पोखरालाई विश्वसामु चिनाउने उद्देश्यसहित कास्की जिल्ला टेनिस संघले २२औँ माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी २०८१ पुस ११ देखि १५ गतेसम्म पोखरामा सञ्चालन हुनेछ ।
अन्नपूर्ण र माछापुच्छ्रे हिमश्रृंखलाको काखमा रहेको पोखराको प्राकृतिक सौन्दर्यलाई खेलकुदसँग जोड्दै अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ । यसअघि पनि संघले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्दै आएको छ ।
प्रतियोगितामा मेन्स तथा उमन्स सिंगल्स र डबल्ससहित ३५ वर्षमाथि, ४५ं, ५५ं र ६५ वर्षमाथिका भेट्रान्स समूह गरी कुल १२ इभेन्टमा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
ओपनतर्फ मेन्स तथा उमन्स सिंगल्सका विजेताले नगद ८० हजार, उपविजेताले ४० हजार तथा सेमिफाइनलिस्टले २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । डबल्सतर्फ विजेताले ३० हजार, उपविजेताले १५ हजार र सेमिफाइनलिस्टले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
३५ वर्षमाथिको सिंगल्स विजेताले ६० हजार, उपविजेताले ३० हजार तथा सेमिफाइनलिस्टले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने डबल्सतर्फ विजेताले २० हजार, उपविजेताले १० हजार र सेमिफाइनलिस्टले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
त्यसैगरी ४५ वर्षमाथिको सिंगल्समा विजेतालाई ४० हजार, उपविजेतालाई २० हजार तथा सेमिफाइनलिस्टलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । डबल्सतर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ पाउनेछन् ।
५५ वर्षमाथिको सिंगल्समा विजेताले ३० हजार, उपविजेताले १५ हजार तथा सेमिफाइनलिस्टले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने डबल्सतर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
६५ वर्षमाथिको सिंगल्समा विजेताले १५ हजार, उपविजेताले ७ हजार ५ सय तथा सेमिफाइनलिस्टले २ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । डबल्सतर्फ विजेतालाई १० हजार र उपविजेतालाई ५ हजार रुपैयाँ नगदसहित ट्रफी तथा मेडल प्रदान गरिनेछ ।
प्रतियोगिता संयोजक नवीन चालिसेले विगतका संस्करणहरूमा जस्तै यसपटक पनि खेलप्रेमी, प्रायोजक तथा सञ्चारकर्मीहरूको सक्रिय सहयोग र सद्भाव अपेक्षा गरिएको बताए ।
यस प्रतियोगिताले पोखरालाई खेल पर्यटनको गन्तव्यका रूपमा थप स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले लिएको छ ।
