
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र भौतिक पूर्वाधार, ऊर्जा तथा शहरी विकासमन्त्री कुलमान घिसिङबीच फेरि छलफल भएको छ । कुलमान घिसिङ निकट एक नेताका अनुसार बिहीबार बेलुका साढे ८ बजेदेखि दुवैबीच छलफल भइरहेको छ ।
‘मेयर साब र मन्त्रीज्यूबीच साढे ८ बजेदेखि छलफल चलिरहेको छ,’ ती नेताले भने, ‘एउटा निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।’
यसअघि बिहीबार बिहान पनि मेयर शाह र मन्त्री घिसिङबीच ललितपुरको ज्वागलस्थित मेयरका निकट सहयोगी कुमार व्यञ्जनकारको निवासमा भेटवार्ता भएको थियो ।
बुधबारदेखि देशविकास पार्टीलाई अगाडि बढाउने तयारीमा जुटेका मेयर शाह बिहीबार बिहानै उज्यालो नेपाल अभियानका संयोजकसमेत रहेका कुलमान घिसिङसँग वार्तामा बसेका हुन् ।
घिसिङ निकट स्रोतका अनुसार छलफल निष्कर्षउन्मुख अवस्थामा पुगेको छ ।
हाल निर्वाचन आयोगमा उज्यालो नेपाल पार्टी (उनेपा) र देशविकास पार्टी छुट्टा-छुट्टै राजनीतिक दलका रूपमा दर्ता भइसकेका छन् ।
