
पोखरा । पोखरा महानगरपालिका-७ मुस्ताङचोकमा स्कुटरलाई ठक्कर दिएर फरार भएको बोलेरो जिप र त्यसका चालकलाई कास्की प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति भएको दुर्घटनामा घाइते भएका स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार बिहीबार राति करिब १०:४८ बजे बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै गरेको बोलेरो जिपले राष्ट्र बैंक चोकबाट मुस्ताङचोकतर्फ आउँदै गरेको ग ९ प ६१८५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। ठक्कर दिएपछि बोलेरो चालक सवारी साधनसहित घटनास्थलबाट फरार भएका थिए।
दुर्घटनामा स्कुटर चालक स्याङ्जा फेदीखोला-३ का २० वर्षीय विवेक रानाभाट र पछाडि सवार गोरखा सिरानचोक-१ का २० वर्षीय प्रविन गुरुङ घाइते भएका थिए। दुवैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा रानाभाटको उपचारकै क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले जानकारी दिनुभयो। घाइते गुरुङको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
फरार सवारी साधनको खोजीका क्रममा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले शुक्रबार बिहान करिब ९ बजे पोखरा-७ मासबारबाट ग ३ च १९०३ नम्बरको सिंगल क्याब बोलेरो जिप र चालकलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा चितवन इच्छाकामना–३ का २० वर्षीय देवबहादुर गुरुङ रहेका छन्।
प्रहरीले घटनासम्बन्धी सवारी दुर्घटना कसुरमा थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
