घाचोक-माछापुच्छ्रे पोखरा सम्पर्क समाजको दोस्रो साधारणसभा सम्पन्न

Share:

पोखरा । घाचोक-माछापुच्छ्रे पोखरा सम्पर्क समाजको दोस्रो साधारणसभा शनिबार माछापुच्छ्रे गाउँपालिका-६ अस्ताममा सम्पन्न भएको छ। साधारणसभामा संस्थाले स्थापनाकालदेखि हालसम्म गरेका गतिविधिहरुको समीक्षा गर्नुका साथै आगामी कार्ययोजना प्रस्तुत गरिएको थियो।

साधारणसभाको उद्घाटन समाजका पूर्व सल्लाहकार तथा ज्येष्ठ सदस्य शिवराम लम्सालले गरेका थिए । कार्यक्रममा समाजलाई अझ व्यवस्थित, सृजनशील र विकासमुखी ढंगले अघि बढाउने विषयमा व्यापक छलफल भएको थियो।

माछापुच्छ्रे गाउँपालिका-३ घाचोक तथा वडा नं। १ माछापुच्छ्रे जन्मघर भई हाल पोखरामा विभिन्न पेशा, व्यवसायमा संलग्न भई स्थायी तथा अस्थायी रूपमा बसोबास गर्दै आएका व्यक्तिहरूको साझा संस्थाका रूपमा एक वर्षअघि समाज गठन गरिएको हो।

कार्यक्रममा माछापुच्छ्रे-१ का संस्थापक वडाध्यक्ष विरेन्द्र गुरुङले समाजले छोटो समयमै गरेका सामाजिक तथा रचनात्मक कार्यहरू प्रशंसनीय रहेको उल्लेख गरे। यस्तै माछापुच्छ्रे-३ का संस्थापक वडाध्यक्ष सूर्यप्रसाद लम्साल ले रेशम नेपालीको उपचार सहयोग संकलन अभियानमा समाजले नेतृत्वदायी भूमिका खेल्दै उल्लेखनीय आर्थिक सहयोग जुटाउन सफल भएको बताए।

समाजका अध्यक्ष तोयनाथ वैरागी लम्साल ले समाज स्थापनाको छोटो समयमै उद्देश्यअनुसार सृजनशील र सामाजिक कार्यहरू गर्दै आएको बताउँदै सदस्यहरूको दुःख-सुखमा सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरे।

“समाजले बेलाबेलामा रचनात्मक तथा सामाजिक कार्य गर्दै आइरहेको छ। आगामी दिनमा समाजलाई थप गतिशील बनाउँदै घाचोक र माछापुच्छ्रेको विकासमा कसरी योगदान गर्न सकिन्छ भन्ने विषयमा निरन्तर लागिपर्नेछौँ,” उनले भने। उनले जन्मभूमिको विकासका लागि बृहत् अन्तरक्रिया तथा स्वास्थ्य शिविर आयोजना गर्ने कार्यक्रमसमेत अघि सारे।

समाजका सल्लाहकार संयोजक मीनप्रसाद लम्सालले समाजका गतिविधिहरूलाई अझ प्रभावकारी, सृजनशील र सक्रिय बनाउँदै लैजान सुझाव दिए। सृजना बहुउद्देश्यीय सहकारी संस्थाका कार्यवाहक अध्यक्ष विशेश्वर लम्साल ले घाचोक वा पोखरा जहाँ रहे पनि गाउँ समाजको विकासप्रति सबैको सोच र ध्यान आवश्यक रहेको बताए।

कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष महेश्वर पोखरेलले सबैले अपनत्व र गर्व गर्ने संस्थाका रूपमा समाजलाई अघि बढाइने प्रतिबद्धता जनाए। सचिव जगत गुरुङ ले घाचोक-माछापुच्छ्रे र पोखराबीच सेतुको काम गर्दै घाचोकवासीको समग्र उन्नतिका लागि कार्ययोजना प्रस्तुत गरे।

सह–सचिव भानुभक्त पोखरेल ले समाजका सदस्यहरूको पारिवारिक विवरणसहितको प्रोफाइल प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिए। कोषाध्यक्ष सरिता आचार्य लम्साल ले गत आर्थिक वर्षको आय-व्यय विवरण प्रस्तुत गर्दै समाजलाई आर्थिक रूपमा सबल बनाउने कार्यक्रमहरू ल्याइने बताइन्।

साधारणसभाले सचिव जगत गुरुङद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष सरिता लम्सालद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफलसहित पारित गरेको छ। साधारणसभामा माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, माछापुच्छ्रे-३ का वडाध्यक्ष हरिश्चन्द्र लम्साल, वडा नं. ५ का वडाध्यक्ष नारायण पौडेल, वडा नं. ६ का वडाध्यक्ष टेकनाथ गौतम लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: