१६ औँ राष्ट्रपति रनिङ शिल्ड कालिका माविको पोल्टामा, १७ पदकसहित बन्यो च्याम्पियन

Share:

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सम्पन्न १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौँ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता मा पोखरा-रामबजारस्थित कालिका माध्यमिक विद्यालय ले समग्र उपाधि जित्न सफल भएको छ।

कालिका माविले ८ स्वर्ण, ६ रजत र ३ कास्य गरी कुल १७ पदक हात पार्दै प्रतियोगितामा शीर्ष स्थान हासिल गरेको हो। कडा प्रतिस्पर्धाबीच शहीद स्मृति माध्यमिक विद्यालय ले ६ स्वर्ण, ५ रजत र ४ कास्यसहित १५ पदक जित्दै दोस्रो स्थान प्राप्त गर्‍यो। यस्तै सैनिक आवासीय माध्यमिक विद्यालय ले ५ स्वर्ण, १ रजत र ८ कास्य गरी कुल १४ पदकसहित तेस्रो स्थानमा चित्त बुझायो।

खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदार का अनुसार प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयका ३ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए। प्रतियोगितामा कुल ४०४ पदकका लागि प्रतिस्पर्धा भएको थियो। उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरी ६ विधा समावेश गरिएको थियो।

कबड्डी तर्फ छात्रामा रामेश्वरी माविले स्वर्ण, शहीद स्मृति आवासीय माविले रजत तथा प्रतिभा मावि र कालिका माविले कास्य पदक जिते। छात्रतर्फ कालिका माविले स्वर्ण, प्रतिभा माविले रजत तथा गौरी शंकर मावि र भवानी कालिका माविले कास्य पदक हात पारे। कबड्डीमा प्रथम हुने टिमले ३० हजार, द्वितीयले २० हजार र तृतीय हुने दुवै टिमले १२/१२ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

भलिबल छात्रा तर्फ शान्ता मावि स्वर्ण विजेता बन्यो भने कालिका मावि र टप्स बोर्डिङ स्कुलले क्रमशः रजत र कास्य पदक पाए। छात्रतर्फ पोखरा युनाइटेड एकेडेमीले स्वर्ण, प्रतिभा माविले रजत र गुरुकुल विद्यासदनले कास्य पदक जिते। भलिबलमा पनि प्रथमलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १२ हजार रुपैयाँ प्रदान गरिएको थियो।

एथलेटिक्स छात्रतर्फ कालिका मावि प्रथम, कास्की मोडर्नाइज्ड एकेडेमी द्वितीय र हार्वर्ड एकेडेमी तृतीय भए। छात्रातर्फ छोरेपाटन मावि प्रथम, सगरमाथा मावि द्वितीय र फिस्टेल एकेडेमी तृतीय भए। एथलेटिक्समा ८४ विद्यालयका ६६५ छात्र-छात्रा सहभागी थिए।

कराते विधामा ४१ विद्यालयका छात्रतर्फ ६० र छात्रातर्फ ७१ खेलाडी सहभागी भएका थिए। यस विधाबाट १२ स्वर्ण, १२ रजत र २४ कास्य गरी कुल ४८ पदक वितरण गरिएको आयोजकले जनाएको छ।

मार्चपास प्रतियोगितामा रत्नज्योति मावि प्रथम, कान्तिपुर एकेडेमी द्वितीय, हार्वर्ड स्कुल तृतीय र युनिभर्स बोर्डिङ स्कुल सान्त्वना बने। मार्चपासमा ४० विद्यालय सहभागी थिए। प्रथम टिमले २० हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार र सान्त्वना टिमले ५ हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगिताका विजेता खेलाडीहरूलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदार, शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, शिक्षा अधिकृत सोमनाथ भण्डारी लगायतले पुरस्कार वितरण गरे।

मेयर आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहको अध्यक्षता समितिका अध्यक्ष गोदारले गरेका थिए भने कार्यक्रमको सञ्चालन सदस्य सचिव सुरज अधिकारी ले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: