
पोखरा। लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सव दर्शक सहभागिता, आर्थिक कारोबार र सांस्कृतिक प्रस्तुतिका दृष्टिले उल्लेखनीय सफलता हासिल गर्दै अघि बढिरहेको छ। स्थानीय उत्पादनको प्रवर्द्धन, लोकसंस्कृतिको संरक्षण र क्षेत्रीय आर्थिक चलायमानता महोत्सवका प्रमुख उपलब्धिका रूपमा देखिएका छन्।
महोत्सव सञ्चालनको नवौँ दिनसम्म आयोजकले लिएको लक्ष्यअनुसार दर्शक सहभागिता पुगेको छ। विदाका दिनहरूमा मात्र करिब ४० हजार दर्शकले महोत्सव अवलोकन गरेका थिए भने हालसम्म कुल दर्शक संख्या करिब २ लाख ५० हजार नाघेको आयोजकले जनाएको छ। दर्शकको उत्साहजनक उपस्थितिसँगै आयोजकहरूमा थप आत्मविश्वास र उत्साह बढेको छ।
आर्थिक कारोबारतर्फ पनि महोत्सव प्रभावशाली बन्दै गएको छ। आयोजकका अनुसार महोत्सवमा दैनिक एक करोड रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ। केही दिनमै महोत्सवमार्फत करोडौँ रुपैयाँ बराबरको आर्थिक गतिविधि सिर्जना भइसकेको छ।
कृषि, जडीबुटी, स्थानीय खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, माछा तथा पशुपंक्षीसम्बन्धी स्टलहरूमा उल्लेखनीय कारोबार भइरहेको छ। विशेषगरी बाल उद्यान, खाना महोत्सव र कृषि प्रदर्शनी दर्शकका मुख्य आकर्षण बनेका छन्।
यस वर्ष महोत्सवलाई परिष्कृत र उद्देश्यपूर्ण बनाउँदै कृषि बहस र उद्योग बहस कार्यक्रम पनि आयोजना गरिएको छ। कृषि बहसमा माछापालन, अलैंची खेती र पोल्ट्री व्यवसायमा संलग्न कृषकहरूले आफ्ना अनुभव, चुनौती र सम्भावनाबारे धारणा राखेका थिए। यस्तै उद्योग बहसमा विभिन्न उद्योगीहरूले व्यवसायिक संघर्षदेखि सफलतासम्मका प्रेरणादायी कथा साझा गरेका छन्।
नीति निर्माता, विज्ञ र सरोकारवालाबीचको प्रत्यक्ष संवादले महोत्सवलाई मनोरञ्जनसँगै ज्ञान र बहसको मञ्च का रूपमा स्थापित गरेको छ।सांस्कृतिक, साहित्यिक तथा शैक्षिक कार्यक्रमहरूले पनि महोत्सवको रौनक बढाएका छन्। कवि शिरोमणि लेखनाथ पौड्यालको योगदान स्मरण गर्दै साहित्यिक कार्यक्रम अन्तर्गत शनिबार अभिनन्दन कार्यक्रम आयोजना गरिनेछ। साथै विद्यालयस्तरीय प्रस्तुति, लोकदोहोरी, हास्यव्यङ्ग्य, सुगम संगीत र लाइभ कन्सर्टहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्।
वि।सं। २०६१ सालमा ‘सुन्तला महोत्सव’ का रूपमा सुरु भएको लेखनाथ महोत्सव आज कृषि, उद्योग, संस्कृति र साहित्यको साझा मञ्चका रूपमा स्थापित भइसकेको छ। स्थानीय उत्पादनको बजारीकरण, साना तथा मझौला व्यवसायको प्रवर्द्धन र सांस्कृतिक पहिचान जोगाउन लेखनाथ महोत्सव प्रभावकारी माध्यम बनेको सरोकारवालाहरूको भनाइ छ। महोत्सव अझै ३ दिन सञ्चालन हुने भएकाले दर्शक संख्या र आर्थिक कारोबार थप वृद्धि हुने अपेक्षा गरिएको छ।
