
पोखरा । अन्नपूर्ण आमा समूह पोखरा महानगरपालिका वडा नं.६ बैदामको अध्यक्षमा गोमा पगेनी चयन हुनुभएको छ। संस्थाको बिहीबार सम्पन्न १४औँ अधिवेशन तथा २७औँ साधारणसभा ले पगेनीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। निर्वाचन मण्डलका संयोजक तथा सल्लाहकार नेत्रलाल भण्डारीले उक्त जानकारी दिए।
नवनिर्वाचित समितिको प्रथम उपाध्यक्षमा चन्द्रकला घिमिरे पहारी, द्वितीय उपाध्यक्षमा गोमा भण्डारी, सचिवमा ऋषिमाया पहारी, सह-सचिवमा कमला अधिकारी, कोषाध्यक्षमा उर्मिला ढकाल तथा सह-कोषाध्यक्षमा गौमाता कुँवर चयन भएका छन् ।
सदस्यहरूमा भूमि जिसी, तारा रेग्मी, पार्वती न्यौपाने, सिता ढकाल, सिता पौडेल, जानका पौडेल, निरा पौडेल, रमा शिवभक्ति, मिठु गिरी, मगली भुजेल, गायत्री भुजेल भट्टराई, यसोदा लामिछाने, विमला कार्की कुँवर र शान्ति पौडेल चयन भएका छन्। नवनिर्वाचित समितिको कार्यकाल दुई वर्ष रहनेछ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि तथा पोखरा महानगरपालिका वडा नं.६ का वडाध्यक्ष विष्णु बहादुर भट्टराई ले अन्नपूर्ण आमा समूह वडाभित्रका अन्य आमा समूहभन्दा पृथक र सक्रिय रहेको उल्लेख गरे। उनले समाजमा रहेका विकृति–विसंगति न्यूनीकरण, जनचेतना अभिवृद्धि र फोहोरमैला व्यवस्थापनमा समूहले खेलेको भूमिका प्रशंसनीय रहेको बताए।
वडा सदस्य दिपेन्द्र पहारी ले सामाजिक विकृति, विसंगति र अन्धविश्वास विरुद्ध जनचेतना फैलाउन समूहले निरन्तर भूमिका खेल्नुपर्ने सुझाव दिए। साथै महिला हिंसाविरुद्ध आवाज उठाउनुपर्नेमा उनले जोड दिए।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष ढाकुर बरालले महिलाहरूलाई संविधानले दिएको अधिकारबारे जानकारी दिन आवश्यक रहेको बताउँदै अव्यवस्थित पार्किङ र ध्वनि प्रदूषण न्यूनीकरणका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराए।
पर्यटन व्यवसायी तथा सल्लाहकार भिमसेन भुजेल ले फेवातालको मापदण्डका नाममा पर्यटन व्यवसायीहरू त्रसित भएको गुनासो गरे। महिला सञ्जाल बैदामकी अध्यक्ष बविता मल्लले महिलाहरूलाई आर्थिक उपार्जनसँग जोडिँदै उद्यमशील बन्न आग्रह गरे।
संस्थाकी अध्यक्ष रेनु लामिछानेले आफ्नो कार्यकालमा फोहोरमैला व्यवस्थापन, कोभिड र डेंगु रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा घरदैलो अभियान सञ्चालन गरिएको जानकारी दिए। आगामी दिनमा सदस्यहरूको आर्थिक अवस्था सुधार्ने कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो।
नवनिर्वाचित अध्यक्ष गोमा पगेनी ले अग्रजहरूको सुझावलाई आत्मसात् गर्दै स्थानीय निकायसँग समन्वय गरी सीपमूलक तालिम र आयआर्जनमुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। सल्लाहकार तथा पूर्व अध्यक्ष मिना ढकाल ले आमा समूहलाई विचार र भावना आदान–प्रदान गर्ने सशक्त मञ्चका रूपमा अघि बढाउन सुझाव दिए।
अधिवेशन अध्यक्ष रेनु लामिछाने को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बरिष्ठ उपाध्यक्ष गोमा पगेनीले स्वागत मन्तव्य राखेका थिए भने सचिव गोमा भण्डारी ले प्रगति प्रतिवेदन र कोषाध्यक्ष ऋषिमाया पहारी ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै प्रतिवेदन सभाले सर्वसम्मत रूपमा पारित गरेको छ।
कार्यक्रममा संस्थालाई सहयोग गर्ने सहयोगीदाताहरूलाई सम्मान गरिएको थियो। विभिन्न संघ-संस्थाका प्रतिनिधि, सल्लाहकार तथा सामाजिक व्यक्तित्वहरूले संस्थाले समाजमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा क्षमता अभिवृद्धि र आर्थिक सशक्तीकरणका कार्यक्रम ल्याउन सुझाव दिएका थिए।
