
पोखरा । पोखरा महानगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यसहित शिक्षकसम्बद्ध महासंघ तथा विभिन्न संघ–संगठनहरूले आन्तरिक बहस सुरु गरेका छन्। राज्यको महत्वपूर्ण लगानी भइरहेका सामुदायिक विद्यालयमा पछिल्लो समय विद्यार्थी संख्या घट्दै जानु, अभिभावक तथा विद्यार्थीको आकर्षण कम हुनुजस्ता समस्यालाई केन्द्रमा राख्दै शिक्षक संघ-संगठनले आफ्ना भूमिकाबारे गम्भीर छलफल थालेका हुन्।
एकीकृत अखिल नेपाल शिक्षक संगठन पोखरा महानगरपालिकाका अध्यक्ष टंकप्रसाद सुवेदीले एक-अर्कामाथि दोषारोपण गर्नुभन्दा पनि सामूहिक प्रयासबाट समस्या समाधान सम्भव हुने विश्वासका साथ बहसको थालनी गरिएको बताए।
“समस्या पहिचान गरेर साझा धारणा निर्माण गर्दै यस विषयलाई राज्यका नियामक निकायसम्म पुर्याउने हाम्रो लक्ष्य हो,” उनले भने।
बहसको दायरा विस्तार गर्दै सामुदायिक विद्यालयको समग्र विकासका लागि दीर्घकालीन पहल गर्ने उद्देश्य लिइएको बताउँदै सुवेदीले घट्दो जनसंख्या वृद्धिदर र समाजमा हुँदै गएको आर्थिक विभेदको प्रत्यक्ष असर सामुदायिक विद्यालयमा परेको उल्लेख गरे।
सरकारको ठूलो लगानी भइरहेका विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढाउन राज्यको स्पष्ट र प्रभावकारी नीति आवश्यक रहेको उनको भनाइ छ। साथै, शिक्षकलाई समयसापेक्ष तालिम प्रदान गर्दै व्यवहारिक तथा प्रयोगात्मक शिक्षामा जोड दिनुपर्नेमा उनले जोड दिए।
नेपाल शिक्षक महासंघ पोखरा महानगरपालिकाका अध्यक्ष नन्दलाल काफ्लेले सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउन यथाशीघ्र दरबन्दी मिलान र प्रधानाध्यापक व्यवस्थापनमा गम्भीर ध्यान दिनु अपरिहार्य भएको बताए। उनले विद्यालय सुधारमा अभिभावक शिक्षाको भूमिका समेत महत्वपूर्ण हुने धारणा राखे।
नेपाल शिक्षक संघ पोखरा महानगरपालिकाका अध्यक्ष किरणबाबु न्यौपानेले स्पष्ट कार्यविधि बनाएर प्रधानाध्यापकको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानाध्यापकलाई अधिकार सम्पन्न बनाउने र वैज्ञानिक दरबन्दी मिलान गर्नुपर्ने बताए।
नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगरपालिकाका अध्यक्ष यामनारायण लामिछानेले सबै शिक्षक संघ-संगठनबीच एकता र सहकार्य कायम भएमा सामुदायिक विद्यालयप्रतिको विश्वास र आकर्षण बढाउँदै विद्यमान समस्या समाधान गर्न सकिने बताए।
सामुदायिक विद्यालयको समग्र विकासका लागि कुनै पनि रूपमा विभाजित नभई एकताबद्ध भएर अघि बढ्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। नेपाल शिक्षक महासंघ पोखरा महानगरपालिकाका सह-अध्यक्ष दुर्गाप्रसाद सुवेदी, सचिव गोपिराज अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव नेपाल प्रकाश अधिकारी, नेपाल शिक्षक संघका सचिव नवराज आचार्यलगायतले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवाला सबैको साझा र निरन्तर प्रयास आवश्यक रहेको बताए।
साथै, स्रोत केन्द्रको प्रभावकारी सञ्चालन गर्दै उत्पादित जनशक्तिलाई स्वरोजगारमुखी र बजारमा प्रतिस्पर्धी बनाउने उद्देश्यसहित सार्थक बहस र ठोस पहल आवश्यक रहेको उनीहरूको निष्कर्ष रहेको छ।
