
पोखरा। पुस ३ गतेदेखि कास्कीको लेखनाथमा सञ्चालन भइरहेको २१औँ संस्करणको लेखनाथ महोत्सव मनोरञ्जनसँगै आत्मीय भेटघाट र सामाजिक पुनर्मिलनको महत्वपूर्ण केन्द्र बन्दै गएको छ। देशका विभिन्न जिल्लाबाट दर्शकहरू महोत्सव अवलोकनका लागि आउने क्रम बढेसँगै लामो समयपछि आफन्त, साथीभाइ तथा चिनजानहरूसँग पुनर्मिलन हुने अवसर मिलेको छ।
रुपा गाउँपालिका-२ का रामनाथ ओझाले १४ वर्षपछि आफ्ना पुराना साथी योगेन्द्र गुरुङलाई महोत्सवमै भेट्न पाउँदा खुसी व्यक्त गरे। यस्तै, पोखरा–३३ का विष्णु आचार्यले २०६४ सालपछि आफ्ना आत्मीय मित्र नवराज दुरालाई यही महोत्सवमा भेटेको अनुभव सुनाए। धेरै दर्शकहरू विद्यालय जीवनका साथी, टाढाटाढाका आफन्त र चिनजानहरूसँग भेटेर खुसी साटासाट गरिरहेको दृश्य महोत्सवभर देख्न सकिन्छ।
दिउँसो लोकदोहोरी कार्यक्रम र साँझ पप कन्सर्टमा युवायुवतीहरूको बाक्लो उपस्थिति देखिँदै आएको छ। यसले महोत्सवलाई बालबालिका, युवा, वृद्धवृद्धा, इष्टमित्र तथा परिवार सबैका लागि उपयुक्त भेटघाटको साझा थलो बनाएको छ।
लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष तथा महोत्सवकी मूल संयोजक जानुका अधिकारी पराजुलीले महोत्सव केवल मनोरञ्जनको साधन मात्र नभई सामाजिक आत्मीयता र सम्बन्ध सुदृढ गर्ने माध्यम बनेको बताइन्। “नयाँपन खोज्दै आउने दर्शकहरू पुराना सम्बन्धमा रमाउन पाउँदा निकै खुसी देखिन्छन्,” उनले भनिन्।
महोत्सवमा चर्चित लोकदोहोरी कलाकारहरूको प्रस्तुति, हास्यव्यङ्ग्य कार्यक्रम, पप कन्सर्ट तथा आधुनिक नृत्यले दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरिरहेको छ। बाल उद्यानमा रहेका विभिन्न खेलप्रति अभिभावकहरूको आकर्षण बढ्दै गएको छ। विदाका दिन बालबालिकालाई खेल खेलाउन घण्टौँसम्म पर्खनु पर्ने अवस्था रहेको बाल उद्यान संयोजक भरत थापाले जानकारी दिए।
शनिबार लोकदोहोरीतर्फ बद्री पँगेनी, आशा बिसी, चोलेन्द्र पौडेल, टेक क्षेत्री, कमला सुनार, पूजा गुरुङ लगायतको प्रस्तुति रहेको थियो। साँझको लाईभ कन्सर्टमा आशिष राना (लाउरे), रितु कँडेल र सुजित सेवानको दमदार प्रस्तुतीले स्टेज तताएको थियो।
आइतबार लोकदोहोरीतर्फ पशुपति शर्मा, शुष्मा शाही ठकुरी, सरला पाण्डे, प्रेमराज अधिकारी, सम बस्याल, सरस्वती परियार तथा साँझ सुगम संगीततर्फ सम बस्याल र राजेश वर्देवाको प्रस्तुति रहने कलाकार व्यवस्थापन समितिका संयोजक भरतराज अधिकारीले जानकारी दिए।
महोत्सवमा शनिबार मात्र ३५ हजार दर्शकले अवलोकन गरेका छन् भने करिब ८० लाख रुपैयाँ बराबरको कारोबार भएको महोत्सवका कोषाध्यक्ष हरि वस्ताकोटीले बताए। हालसम्म २ लाख ८५ हजार दर्शकले महोत्सव अवलोकन गरिसकेका छन् भने ९ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भइसकेको आयोजकले जनाएको छ।
लेखनाथको सम्झनामा साहित्यिक अभिनन्दन
महोत्सवको दशौँ दिन शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालको साहित्यिक योगदानको स्मरण गर्दै विशेष साहित्यिक कार्यक्रम आयोजना गरिएको छ। सो अवसरमा नेपाल संस्कृत विश्वविद्यालयबाट ‘लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन’ विषयमा विद्यावारिधि उपाधि प्राप्त गरेका डा. बोधराज ढकाललाई अभिनन्दन गरिएको हो।
स्याङ्जाको आँधीखोला-६ मा जन्मिएर हाल पोखरा-८ सिमलचौर निवासी ढकाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत पृथ्वीनारायण क्याम्पसमा नेपाली वाङ्मयका विविध विधामा अध्यापनरत छन्। उनले अनुसन्धानमूलक तथा समीक्षात्मक कृतिहरू प्रकाशन र शोध निर्देशनमार्फत नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
कार्यक्रममा साहित्यकार तथा संस्कृतिविद् प्राध्यापक डा. कुशुमाकर न्यौपानेले नेपाली भाषा र साहित्यमा ढकालको योगदानको कदर गरिएकोमा खुसी व्यक्त गरे। मूल संयोजक जानुका अधिकारी पराजुलीले लेखनाथ महोत्सव २०८२ का अवसरमा प्रदान गरिएको यो सम्मान कवि शिरोमणिप्रतिको श्रद्धा र सम्मानको प्रतीक भएको उल्लेख गरिन्।
साहित्यिक उप–समिति संयोजक कृष्णप्रसाद ढुङ्गानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलले स्वागत मन्तव्य राखेका थिए भने पोखरा साहित्य प्रतिष्ठानका स्थापनाकालीन अध्यक्ष पदमराज ढकालले स्रष्टा परिचय प्रस्तुत गरेका थिए। कार्यक्रममा कवि शिरोमणि लेखनाथ पौड्यालका कविताहरूको वाचनसमेत गरिएको थियो।
अभिनन्दित स्रष्टा डा. बोधराज ढकालले सम्मानले आफूलाई थप जिम्मेवारी र प्रेरणा मिलेको बताए। कार्यक्रममा संघका पूर्व अध्यक्ष छत्रधर आत्रेय, संस्कृत क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डा. जगन्नाथ रेग्मीलगायतले कवि शिरोमणिको साहित्यिक योगदानको स्मरण गरेका थिए। साथै, कवि लेखनाथसँग सम्बन्धित प्रश्नोत्तरमा सही उत्तर दिने सात जनालाई जनही एक हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो।महोत्सवका अन्य नियमित कार्यक्रमहरू यथावत रूपमा सञ्चालन भइरहेका छन्।
