
पोखरा । माछापुच्छ्रे गाउँपालिका, कास्कीको गाउँ सभाको १८औँ अधिवेशन सोमबार सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले बैठक प्रारम्भ गरेसँगै सभाले ‘माछापुच्छ्रे गाउँपालिका, कास्कीको विनियोजन ऐन, २०८२’ संशोधन विधेयक बहुमतले पारित गरेको हो।
गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले विनियोजन ऐन २०८२ संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गरेकी थिइन्। उक्त प्रस्ताव सभाका सदस्यहरूको बहुमतले पारित भएपछि ऐन तुरुन्तै लागू हुने व्यवस्था गरिएको छ।
आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकाका सेवा तथा कार्यक्रम सञ्चालनका लागि सञ्चित कोषबाट खर्च गर्न आवश्यक रकम विनियोजन गर्न ऐन संशोधन आवश्यक देखिएकाले गाउँ सभाबाट संशोधन गरिएको जनाइएको छ।
सभामा बोल्दै सभा सदस्य भरतराज अधिकारीले प्रत्येक वडालाई उत्पादनसँग जोड्दै आत्मनिर्भर बनाउनु पर्ने धारणा राखे। पछिल्लो समय बाँदर आतंकका कारण खेतीयोग्य जमिन बाँझो बन्दै गएको उल्लेख गर्दै उनले भूमि उपयोगका समस्या समाधान गर्दै कृषि तथा उत्पादनमा जोड दिनुपर्ने बताए। “गाउँपालिका दूधमा आत्मनिर्भर भएझैँ अन्य क्षेत्रमा पनि वडागत सम्भावनाको खोजी गरी स्थानीयलाई आत्मनिर्भर बनाउनु आवश्यक छ,” उनले भने।
सभा सदस्य अप्सरा गौतमले सम्पूर्ण राजनीतिक दल र बुद्धिजीवीसँग समन्वय गरेर बजेट बाँडफाँड गर्नुपर्ने सुझाव दिइन्। अर्की सभा सदस्य गंगा रानाभाटले केही गुनासाहरू रहे पनि गाउँपालिकाले विकास निर्माणमा उल्लेखनीय काम गरेको बताइन्।
सभाको शून्य समयमा सभा सदस्य रामहरि गुरुङ, भरतराज अधिकारी र बाबुराम भण्डारीले आ-आफ्ना वडाका समस्या उठाएका थिए। त्यसको जवाफमा गाउँपालिका अध्यक्ष गुरुङले शून्य समयमा प्राप्त सुझाव तथा छलफलका विषयहरूलाई यथासक्य कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे।
