२७औँ पोखरा सडक महोत्सवको आज दोश्रो दिन: वेटर-वेट्रेस दौड सम्पन्न, सडकमै पर्यटन बहस

Share:

पोखरा । पर्यटकीय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा जारी २७औँ संस्करणको पोखरा सडक महोत्सव अन्तर्गत सोमबार विविध कार्यक्रमहरू सम्पन्न भएका छन्। महोत्सवको दोश्रो दिन आयोजित वेटर/वेट्रेस दौड प्रतियोगिता मा वेटरतर्फ बेञ्जन रेष्टुरेण्टका प्रशान्त रोक्का प्रथम, चिल्ली बारका अमर परियार द्वितीय तथा बेञ्जनकै इमोन थापा तृतीय भएका छन्। वेट्रेसतर्फ डुंगा रेष्टुरेण्टकी मोनिका नेपाली प्रथम, मोबु रेष्टुरेण्टकी रिकिता पौडेल द्वितीय तथा बेलिफ रेष्टुरेण्टकी अश्मि घर्ती मगर तृतीय भइन्।

विजेताहरूले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गरे। हल्लनचोकदेखि खहरेचोकसम्म आयोजित दौड प्रतियोगितामा वेटरतर्फ २० जना र वेट्रेसतर्फ ९ जना सहभागी थिए। रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, महोत्सव संयोजक बसन्त गौतम, खेलकुद कार्यक्रम संयोजक सुमन भट्टराईलगायतले विजेताहरूलाई पुरस्कार वितरण गरेका थिए।

यसैगरी, लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रफलमा फैलिएको महोत्सव अन्तर्गत सोमबार सडकमै पर्यटन बहस कार्यक्रम पनि सम्पन्न भयो। अम्मटस्थित सडकमा आयोजित बहस कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समिति संयोजक गोपीबहादुर भट्टराई र अग्रज पर्यटन व्यवसायी टिकाराम सापकोटा वक्ताका रूपमा सहभागी थिए। कार्यक्रमको सहजीकरण सञ्चारकर्मी जमुना वर्षा ले गर्नुभएको थियो भने रेवान पोखराका महासचिव बीरेन्द्र शेरचन ले कार्यक्रम सञ्चालन गरेका थिए।

महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि रहेको छ भने सह-प्रायोजकमा यति डिष्टिलरी, बोटलर्स नेपाल (तराई) र दि नेपाल डिष्टिलरी प्रालि रहेका छन्। प्रवर्द्धक संस्थाहरूमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५ र पोखरा पर्यटन परिषद् रहेका छन्।

त्यसैगरी सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनर, म पानी, गृहलक्ष्मी ग्याँस, अन्नपूर्ण केबलकार र रेड बुल सहयोगी संस्थाका रूपमा रहेका छन्।महोत्सव अन्तर्गत मंगलबार बिहान अम्मट घाटमा डुंगा दौड प्रतियोगिता आयोजना हुने कार्यक्रम रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: